वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५ः३५ बजे बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराए । तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देपकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए ।
त्यस यता उनले आफ्नै अस्पताल बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए ।
पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) भएको छ । यसको उपचारका लागि उनले बेलायतमा किमोसमेत लिएका थिए ।
देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा
रखिएको थियो । त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिएको थियो । यसैबीच उनको काजक्रिया पत्नी मधु दीक्षित, छोरीहरू मेधा, बसुधा र मञ्जरीले गर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काजकिरिया ७ दिनमा सकिने र हेपाली हाइटमा हुनेसमेत जनाइएको छ ।
बिस २०१० साल पुस १० गते
गोरखाको आँपपिपलमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसी बोर्डमा समेत परेका थिए ।
वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान दिएका थिए । वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ । उनी स्वास्थ्य मन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए ।
डा. देवकोटाप्रति राजनीतिक दलको श्रद्धाञ्जली
प्रधानमन्त्री केपी शर्मा ओलीले
बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री ओली सोमबार नै काठमाडौंका बाँसबारीस्थित न्युरो अस्पताल पुगी श्रद्धाञ्जी दिएका थिए । प्रधानमन्त्रीले सोमबार साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा. देवकोटाले पु¥याएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने छ बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक
रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। ‘स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति
राष्ट्र सधैँ ऋणी रहिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने प्रा.डा. देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा
स्मरणीय भइरहनेछ ।’ यस्तै, नेपाली कांग्रेसले पनि डा. देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले कांग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा. देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताइएको छ । ‘डा. देवकोटाको निधनबाट चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।’ सोमबार हेटौँडामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा. देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त
परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पनि वरिष्ठ डा. देवकोटाको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डले डा. देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन् । उनले डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षत्र रहेको बताउँदै उनीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
डा. देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखियो
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु,
राजनीतिक दलका नेताहरु सोमबार साँझ नै न्यूरो अस्पताल पुगेका थिए ।
सोमबार साँझदेखि नै अस्पतालमा सर्वसाधारण र शुभेच्छुकहरुको भिड लागेको थियो । त्यो भिड मंगलबार बिहान पनि कायमै थियो ।
दिवंगत डा. देवकोटालाई ढाका टोपी लगाइदिइएको थियो ।
जयश्रीराम लेखिएको पहेंलो वस्त्र ओढाइएको थियो । पार्थिव शरीरलाई फूलैफूलले सजाइएको टेबुलमाथि
राखिएको थियो । पार्थिव शरीर राखिएको स्थानसँगैको भित्तामा पनि फूलैफूलको बीचमा डा. देवकोटा हाँसीरहेको ठूलो फोटो झुन्ड्याइएको थियो ।
देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो १ बजेसम्म अस्पताल
परिसरमा राखिएको थियो । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार
गरिएको थियो । उनको विद्युतीय माध्यमबाट शवदाह गरिएको थियो ।
देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ ।
पित्तथैलीको क्यान्सरको बेलायतमा प्रारम्भिक उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए । डा. देवकोटाकै चाहनाअनुसार गत हप्ता उनलाई गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

तपाईको प्रतिक्रिया