भाडा वृद्धिसंगै टेम्पो सिण्डिकेट खारेजीको माग

धरान÷सरकारले मुलुकबाट सबै प्रकारका सिण्डिकेट हँटाउने घोषणा गरिरहँदा धरानमा भने अझै सम्म अस्तित्वमा रहेका आधा दर्जन टेम्पो सिण्डिकेटहरुले मनपरी भाडा वृद्धि गरी असुल गर्न थालेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
सोमबार पूर्वाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानका विद्यार्थीहरुले टेम्पो सिण्डिकेट खारेज गर, भाडा वृद्धि फिर्ता गर जस्ता नारा लगाउदै धरानको तीनकुनेदेखि भानुचौकसम्म प्रर्दशन गरेका थिए ।
टेम्पोहरुले भाडा वृद्धि गरेपछि त्यसको चौतर्फी आलोचना र विरोध भएपछि आइतबार टेम्पो व्यवसायी, धरान उपमहानगरपालिकाका प्रतिनिधि, ट्राफिक प्रहरीका प्रतिनिधिबीच भएको छलफलमा तत्काल भाडा वृद्धि नगर्ने सहमति भएपनि टेम्पोहरुले सहमति विपरीत भाडा असुल
गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले भानुचैकमा आयोजित कोणसभामा तत्काल भाडावृद्धि फिर्ता नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । टेम्पो व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण भाडा वृद्धि गर्नुपरेको जनाएका छन् । पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसका पवन कार्कीले भने तत्काल भाडा नघटाए सडक बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया