तुम्लिङटार÷नौ सय मेघावाटको वहु प्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य कार्यालयमा शनिवार राति अज्ञात समूहले विस्फोट गराएको छ । विस्फोटबाट कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको छ ।
संखुवासभाका प्रहरी प्रमुख डिएसपी सन्तोष खड्काले दिनु भएको जानकारी अनुसार शनिवार राति १२ः१५ बजे तुम्लिङटार स्थित अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको बाहिरी कम्पाउन्डमा अज्ञात समूहले कुकर बम विप्स्फोट गराएका छन् । एक महिना अगाडि मात्र खाँदबारीबाट प्रशासनिक भवन तुम्लिङटार सारिएको थियो ।
विस्फोट गराउने समुहको खोजी भइरहेको पनि डिएसपी खड्काले बताउनुभयो । एक महिना अगाडि पनि उक्त स्थानमा वम विस्फोट भएको थियो । वम विस्फोटको जिम्मा हाल कसैले नलिए पनि उक्त कार्यमा नेकपा (नेत्र विक्रम चन्द) समूहको हात रहेको हुन सक्ने डिएसपी खड्काले बताउनुभयो । विस्फोट गराउनुको मुख्य उद्देश्य विरोध जानाउनु र यहाँ हाम्रो पनि उपस्थिति छ भन्ने देखाउनु नै हुनसक्छ, खड्काले भन्नुभयो । विस्फोटपछि आयोजना स्थल वरपरको सुरक्षा अवस्था अत्यन्तै कडा पारिएको छ । सभाखोला, चैनपुर, तुम्लिङटार, भोजपुर छिर्ने नाकामा चेक जाँच कडा पारिएको छ । यसभन्दा अगाडि चिचिला गाउँ पालिकाको दिदिङ्ग स्थित पावर हाउस निर्माण स्थलमा पनि बम विस्फोटन गरिएको थियो । उक्त विस्फोटको जिम्मा नेता विक्रम चन्दको नेकपाले लिएको थियो ।
यसैबीच सरकारले भारतीय कम्पनी सतलजलाई अरुण तेस्रो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्न अनुमति दिने निर्णय गरेको छ । मन्त्री परिषद्को शनिवार बसेको बैठकले उत्पादन अनुमति दिने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले निर्माण कम्पनीलाई लगानी जुटाउन आगामी असोज १२ गते सम्म म्याद थप्ने निर्णय समेत गरेको छ । सतलजले आउँदो ५ बर्षमा आयोजना सम्पन्न गर्नुपर्ने हुन्छ । अरुण तेस्रो जलविद्युत आयोजनाको लागि १ खर्ब १५ अर्ब लाग्ने अनुमान ठेकेदार कम्पनीको रहेको छ ।

