धरान÷भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैसाख २८ गते नेपालको तीनदिने
राजकीय भ्रमणमा आउनु हुने भएको छ ।
भारतीय विदेश मन्त्रालयले मे दोस्रो साता अर्थात वैसाख २८ गते मोदीले नेपाल भ्रमण गर्ने सन्देश नेपालको परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । नेपालका प्रधानमन्त्री केपी शमा ओली फागुनमा तीनदिने भारतको राजकीय भ्रमणमा जानु हुँदा भारतीय प्रधानमन्त्री मोदीलाई चाँडै नै नेपाल भ्रमण गर्न निम्ता दिनु भएको थियो ।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय गर्दा प्रधानमन्त्री मोदी युरोप भ्रमणमा रहनु भएको थियो । युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री मोदी भारतको दक्षिणी राज्य कर्नाटकमा वैसाख २९ गते अर्थात मे १२ मा हुने चुनामा सहभागी हुनु हुने भएको छ । कर्नाटकको निर्वाचनलाइ सत्तासीन मोदीको पार्टी र विपक्षीहरुले समेत प्रतिष्ठाको विषय बनाएका छन् । हाल हुन गइरहेको विधानसभाको निर्वाचनलाई आफनो पक्षमा पार्न सके संसदको आगामी दिनमा हुने निर्वाचन सहज हुने सत्ताधारी र विपक्षी दलहरुको बुझाई छ । कर्नाटक निर्वाचनलाई आफनो पक्षमा पार्न भाजपाका अध्यक्ष अमित साह सोही स्थानमा बसेर आफनो पूरेै ध्यान केन्द्रित गर्नुभएको छ ।
आफनो दोस्रो कार्यकालका लागि निर्णायक मानिएको कर्नाटक चुनावलाई प्रधानमन्त्री मोदीले गम्भीर रुपमा समेत लिनु भएको छ । जसका कारण चुनाव प्रचार पसार गर्न अन्तिम समय सम्म प्रधानमन्त्री मोदी कर्नाटकमै बस्नु
हुनेछ । निर्वाचको ४८ घण्टा अगाडि निषेधाज्ञा शुरु भएपछि उहाँ दिल्ली फर्कने र दुई दिने नेपाल भमणमा आउनु हुने भएको हो ।
यसैबीच भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा जनकपुरस्थित जानकी मन्दिर दर्शन गर्न आउने भ्रमण कार्यतालिकामै समावेश गरिएपछि सुरक्षा व्यवस्था सम्बन्धी व्यवस्थापन गर्न नेपाल र भारतीय
राजदुताबासका अधिकारीहरुले आइतबार र सोमबार स्थलगत अध्ययन गरेका थिए ।
धनुषाका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंहले दिएको जानकारी अनुसार गृह मन्त्रालयका पदाधिकारी र भारतीय दुतावासका अधिकारीहरुको टोलीले स्थलगत अध्ययन गरेर फर्कनु भएको छ । उहाँले भन्नुभयो भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा प्रयोग हुने रुट र स्थलको अध्ययन भएको हो । जानकी मन्दिर दर्शन गर्न जाने रुट, सम्बोधनका लागि तयार पारिने तिरहुतिया गाछी, रंगभूमि मैदान, बाह्र विगाहा आदिको स्थलगत अध्ययन भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईका अनुसार भ्रमण तयारीका लागि नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी सहित भारतीय सुरक्षा प्रमुखहरुको पहिलो भिजिट भएको हो । दुवै देशका उच्च सुरक्षाकर्मी र प्राविधिक टोलीले भ्रमण अगाडि दोस्रो र तेस्रो चरणको सुरक्षा अवस्था अध्ययन गर्ने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदीका अति विश्वासपात्रका रुपमा चिनिनु हुने नेपालका लागि भारतीय राजदुत पुरी सोमबार पनि धनुषाको जनकपुरमै हुनुहुन्थ्यो । त्यस अवसरमा उहाँले प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट गर्नुभएको थियो ।

