कृषि यन्त्र र प्रविधिको उपयोग, व्यवसायिक कृषि विकासको आधार’ भन्ने मूल नाराका साथ धरानमा तेस्रो राष्ट्रिय कृषि यन्त्रिकरण प्रदर्शनी–२०७४ को आयोजना हुदैछ ।
नेपाल सरकारको कृषि मन्त्रालयअन्तर्गको कृषि विभाग, कृषि इन्जिनियरिङ्ग निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा
धरान ८ पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा फागुन १० देखि १३ गतेसम्म हुन लागेको प्रदर्शनीको मुख्य लक्ष्य पुरानत कृषि प्रणालीलाई विस्तारै आधुनिकरण गर्ने रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा २० मुलुकमा निर्माण गरिएका दुई हजार भन्दा बढी कृषि यन्त्रको प्रदर्शनी गरिने र ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकरण, व्यवसायिककरण गर्ने उद्देश्यले आयोजना हुन लागेको सो प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, आधुनिक सिचाई प्रवृधि, गुणस्तरीय विउ विजन, पोल्टी, डेरी, माछा पालन, पुष्प व्यसाय लगायतका उत्पादन प्रशोधन तथा बजारीकरण सम्बन्धी राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय क्षेत्रमा भएका कम्पनीहरुलाई समावेश गरिएको बताइएको छ । यस प्रदर्शनीले समग्र कृषि क्षेत्रको सुदृढीकरण, व्यवसायिकरण र आधुनिक कृषि प्रणालीलाई जोड दिनकै लागि प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव खोजराज कटुवाले बताउनुभयो ।
५० देखि ५० लाख सम्मका कृषि औजारहरु राखिने सो प्रदर्शनीमा ५० वटा स्टल रहने र १० करोड भन्दा बढीको कारोबार हुने आयोजक संस्थाका सदस्य गौरव श्रेष्ठले बताउनुभयो ।
