विश्वमै मार्सल आर्ट खेलको विकास गर्ने उद्देश्यले दुई बर्ष अगाडि गठन भएको तोङ इल मो दो संघले विद्यालयस्तरबाट खेलाडी उत्पादनलाई जोड दिन थालेको छ ।
मार्सल आर्टमा विश्वमा नेपालले देखाएको प्रदर्शनमा अझ निखार ल्याउने र नेपालमा मार्सल आर्ट खेलको विकास गर्ने उद्देश्यले गठित सो संघले पूर्वाञ्चलको धरानमा पूर्वाञ्चल क्षेत्रीय स्तरीय मार्सल आर्ट प्रतियोगिताको आयोजना समेत गरेको छ ।
आयोजक संस्था तोङ इल मो दो संघका सुनसरी अध्यक्ष विक्रम श्रीले दुई बर्ष अगाडि स्थापना गरिएको यस संघको प्रमुख उद्देश्य मार्सल आर्टको विश्वकप खेल नेपालमै गराउने उद्देश्य लिएको बताउनुभयो । उहााले यसका लागि खेलाडीलाई विद्यालयस्तरबाट नै विकास गर्दै लानुपर्ने भएकोले भविष्यमा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नका लागि पूर्वाञ्चल व्यापी विद्यालय स्तरीय मार्सल आर्ट प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाले विश्वमा नेपाललाई शान्तिको देश भनेर चिनिएको बताउनु हुदै नेपालमा हुने मार्सल आर्ट प्रतियोगिताले शान्तिको देश भनेर चिनाउन अझ सजिलो हुने
बताउनुभयो ।
यस्तै २२ औ ओलम्पिक खेलमा बक्सिङमा आफ्नो प्रतिभा देखाइसक्नु भएका पूर्व खेलाडी एवम् यस प्रतियोगिताका प्रमुख अतिथि नरेन्द्र पोमोले खेलाडीले अनुशासन र आफ्नो उद्देश्यलाई खेल जीवनभर छोड्न नहुने बताउनुभयो ।
उहाले यी दुई कुरालाई आत्मासात गरी अगाडि बढेको खण्डमा खेलको भविष्य उज्जवल हुने भन्दै खेलाडीलाई अनुशासित भएर खेल्न आग्रह समेत गर्नुभयो ।
यस्तै सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङले नेपालले खेलकुद क्षेत्रमा अत्यन्तै प्रगति गरेको बताउदै खेलकुदमा राज्यले विगतको भन्दा अझै प्रोत्साहन गर्दैै लगेको बताउनुभयो । उहाले यस संघलाई खेलकुद विकास समिति सुनसरीले आत्मसात गर्दै सहयोग पुर्याउदै जाने बताउनुभयो ।
तोङ इल मो दो संघ सुनसरीको आयोजनामा धरान १६ को कवर्ड हलमा एक दिने मार्सल आर्ट प्रतियोगितामा लर्ड बुद्ध उच्च मा.वि. झुक्का, कञ्चनजंघा बोर्डिङ स्कुल इटहरी, स्टान्डर्ड बोर्डिङ स्कुल पकली, बालविकास बोर्डिङ्ग स्कुल हाासपोसा सुनसरी, राधाकृष्ण बो.स्कुल पकली सुनसरी लगायतका विद्यालयका ४० भन्दा बढी छात्र तथा छात्राहरुले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा छात्रातर्फ २५ देखि ३० केजी, ३० देखि ३५ केजी, ३५ देखि ४० केजी, ४० देखि ५० केजी र ४५ केजीमाथिका खेलाडीहरुले प्रतिष्पर्धा
गरेका थिए भने छात्रतर्फ २० देखि २५ केजी, २५ देखि ३० केजी, ३० देखि ३५ केजी, ३५ देखि ४० केजी, ४० देखि ४५ केजी, ४५ देखि ५० केजी र ५० केजी भन्दा माथिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
