जिल्ला कारागारका जेलर कृष्ण दाहाल घुससहित पक्राउ परेका छन् । उनी नगद ४० हजारसहित पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले स्थानीय मुरली चिया पसलबाट दाहाललाई पक्राउ गरेको हो । सेवाग्राहीसँग पैसा लेनदेन गरिरहेको बेला दाहाललाई पक्राउ
गरिएको टोलीका एक अधिकृतले जानकारी दिए । सेवाग्राहीको नाम भने गोप्य राखिएको छ ।
दाहालले कैदी–बन्दीलाई जेल सरुवा गरिदिने आश्वासन दिएर ४० हजार लिँदै गर्दा पक्राउ गरिएको अधिकृतको भनाइ छ । घटनाको मुचुल्का तयार गरी दाहाललाई आयोगको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उपस्थित गराउने अधिकृतले बताए ।
दाहाललाई पक्राउ गर्न बर्दिवास र इटहरीस्थित सम्पर्क कार्यालयको संयुक्त टोली खटिएको जनाइएको छ ।
