इटहरी उपमहानगरको राजस्व संकलन अस्तव्यस्त, एउटै कर दुई पटक तिर्दै

इटहरी ÷ इटहरी ७ की सविना भट्टराईले गते ७३ साल भदौ १२ गते आफ्नो जग्गाको कर वापत ५३१ रुपैया इटहरी उपमहानगरपालिकाको राजस्व शाखामा पुगेर तिरिन् ।
त्यसको एक वर्ष पछि उनी ०७४ साल मंसिर २९ गते जब कर तिर्न गइन, तब उनले अघिल्लो वर्ष कर तिरेको कम्प्युटरले देखाएन । उल्टो उनलाई ८० रुपैया
जरिवाना थप्यो । उनले ७२९ रुपैया चुपचाप तिरिन् । उक्त रकम तिरेको रसिदमा ७१ सालदेखि ७५ सालसम्मको कर तिरेको उल्लेख थियो । उनले एउटै समयको कर दुई पटक तिरिन्, त्यो पनि जरिवानासहित ।
खासमा भएको के रहेछ भने इटहरी उपमहानगरपालिकामा एक महिना ९ दिनको राजश्व असुलीको अभिलेख नै कम्प्युटरबाट गायब छ । जसको कारण कर तिर्न जानेहरु दोहोरो कर र जरिवानाको मारमा परेका छन् । ०७३ साल साउन २६ गतेबाट असोज ३ गतेसम्मको कर असुलीको कम्प्युटर अभिलेख उपमहानगरपालिकामा छैन ।
कर शाखा प्रमुख अर्जुन सुवेदीले सो समयको तथ्यांक कम्प्युटरमा नभएको बताए । उनले सफ्टवेयर क्र्यास हुँदा समस्या आएको बताए । असोज ३ गतेसम्ममा पूर्ण रुपमा काम गर्न नसकेपछि सफ्टवेयर परिवर्तन गरिएको बताउँदै उनले सो समयको तथ्यांक केही बाँकी नरहेको बताए ।
उनले कर तिरिसकेको प्रमाणसहित निवेदन दिए कर फिर्ता गर्ने समेत बताए । अहिलेसम्म उपमहानगरपालिकाले पाँच जनाको कर फिर्ता गरिसकेको छ । सुवेदीले
राजस्व फाँटका कर्मचारीले अघिल्लो वर्ष कर तिरेको वा नतिरेको भन्ने बारे सोधेर कर काट्न थालेको बताए । ‘अहिले हामीले कर्मचारीलाई सोध्न भनेका छौं,’ उनले भने ।
तीन महिनाको कर संकलनको अभिलेख कम्प्युटरमा राख्न सकिने भएपनि उपमहानगरपालिकाले भने वेवास्ता गर्दा सेवाग्राहीहरु
मारमा परेका छन् । सो अवधिमा कति
कर संकलन भयो, सोको तथ्यांक उपमहानगरपालिकाको लेखा शाखाले एकमुष्ठ मात्र दिन सकेको छ ।
कर र लेखा बिचको सम्पर्क मौखिक मात्र हुने गरेकोले पनि कर संकलनको सफ्टवेयर क्र्यास हुँदा लेखाले समेत तथ्यांक दिन सकेन । दिनै पिच्छे संकलित करको कुल रकम मात्र लेखा शाखाले जानकारी पाउने गर्छ । ‘करले कति संकलन गर्यो, मौखिक भनिन्छ, सोही आधारमा लेखामा कम्प्युटरमा इन्ट्री हुन्छ,’ लेखा प्रमुख लखन शाहले भने ।
लेखा शाखामा साउनदेखि असोज गरेर तीन महिनामा संकलित करको रकम समेत अपडेट नगरीएको पाइएको छ । राजस्व शाखाले संकलित राजस्वको रकम दैनिक लेखालाई जानकारी गराउने भनिएपनि यो तीन महिनामा संकलित राजस्वबारे लेखाले अनभिज्ञता प्रकट गरेको छ । सरकारी कार्यालयमा प्रायः प्रत्येक तीन महिनामा हिसाब अपडेट गरिन्छ । तर ६ महिना बितिसक्दा पनि मासिक संकलित राजस्वबारे समेत जानकारी कार्यालयले दिन सकेन ।
कर संकलनको अस्तव्यस्तताका कारण रकम हिनामिना भएको आशंकाहरु गरिएका छन् । समस्याहरु देखिन थालेपछि उपमहानगरपालिकाले राजस्व संकलन बैंकबाट गर्न लागेको समेत इटहरीका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले जानकारी दिए । उनले कर संकलन गर्दा खुद्रा पैसा नदिइने जस्ता समस्याको समाधानको लागि बैंकमा पैसा जम्मा गर्ने तयारी थालिएको बताए ।

तपाईको प्रतिक्रिया