धरान÷ स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने मान्यतालाई आत्मसात गर्दै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञान संकायमा अ्रध्ययनरत विद्यार्थीहरुले सुनसरी तथा मोरङमा रहेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई पौष्टिक आहारविहारको विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन् ।
पोषण तथा आहार विज्ञान (न्युट्रेन) मा अध्ययनरत विद्यार्थीहरुको संस्था नेपाल पोषण तथा आहार विहार विद्यार्थी समाज गठन गरी गत बर्षबाट शुरुवात गरेको सचेतना कार्यक्रम अन्तर्गत हालसम्म १५ वटा सुनसरी र मोरङमा रहेका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकालाई सचेतनात्मक कार्यक्रमको आयोजना गरिसकेका छन् ।
यस बर्षमात्रै उनीहरुले धरानका ४ वटा निजी तथा सामुदायिक विद्यालयमा यस्ता सचेतनात्मक कार्यक्रमको आयोजना कार्यक्रम सम्पन्न गरिसकेका छन् । उनीहरुले धरानको शिक्षा सदन मावि, बालिका मावि, सम्यक शिक्षा निकेतन मावि र होलिल्याण्ड इन्टरनेशनल बोर्डिङ्गमा यस्ता सचेतनात्मक कार्यक्रमको आयोजना गरिसकेका छन् भने चाडै मोरङ्गको विराटनगरमा रहेका दुई वटा सामुदायिक विद्यालयमा कार्यक्रम आयोजना गर्न लागिएको नेपाल पोषण तथा आहार विहार विद्यार्थी समाजकी अध्यक्ष नेहरिका बास्कोटाले बताउनुभयो । विद्यालय लक्षित यस्ता सचेतना कार्यक्रममा तौल अनुसारको उचाई छ छैन भनेर विएमआई परिक्षण, रक्त अल्पताबाट बच्ने उपाय, रेशादार खाना खादाका फाइदा तथा बच्चालाई आमाको दूध अमृत समान भएको कुरालाई बढी प्राथमिकताका साथ सिकाइने अध्यक्ष बास्कोटाले बताउनुभयो । यस्ता कुराहरु खाली किताबमात्र पढ्दा पूर्ण रुपमा जानकारी नहुने र हात्तीसारका विद्यार्थीहरुले सिकाएको ज्ञानलाई आत्मसात गर्ने प्रेरणा मिलेको प्रशिक्षण लिएका विद्यार्थीहरुले बताएका छन् । स्वास्थ्य भन्दा ठुलो धन केही नभएको र स्वस्थ रहन गर्नुपर्ने सावधान तथा पौष्टिक आहारविहान प्रयोग गर्ने तरिकाका विषयमा आफूले पूर्ण रुपमा ज्ञान पाएको यहाबाट पाएको ज्ञान अरुलाई सिकाउने उनीहरले बताए ।
यता अभिभावकले समेत यो सचेतना कार्यक्रम अत्यन्तै लाभदायक भएकोले उनीहरुले सिकाएको कुरा जीवनमा प्रयोग गरे मानिस सधै स्वस्थ्य रहने अभिभावक केन्द्र लिम्बुले बताउनुभयो ।
त्यसो त शिक्षकहरुसमेत आफूहरुले विद्यालयमा कहिल्यै सिकाउन नसकिएको स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम हात्तीसारका न्युट्रेसनका विद्यार्थीहरले सिकाएर विद्यार्थी, अभिभाव तथा शिक्षक तथा शिक्षिकाहरु सचेत रहन सहयोग पुगेको बताएका छन् ।
विद्यालयको कोर्षभित्र नै नपर्ने यो सचेतना कार्यक्रम दुई बर्षदेखि आफ्नै संस्था नै दर्ता गरेर सचेतना कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । उनीहरुले विद्यालयमा गएर विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाको उचाई नाप्ने, तौल नाप्ने र उचाई अनुसार तौल ठीक छ छैन भनेर हेर्ने र बढी भए त्यसलाई कसरी व्यालेन्समा ल्याउने, खाना खानुभन्दा अगाडि हात साबुन पानीले कसरी धुने, शरीरमा अति आवश्यक पर्ने तत्वहरु, फलफूलका फाइदाहरु लगायतका विषयमा सिकाउने गरेका छन् । विद्यालय स्तरबाट नै यस्तो प्रकारको ज्ञान दिन सके विद्यार्थीको मानसिक तथा शारीरिक तन्दुरुत हुने उनीहरको धारणा छ ।
