लक्ष्मण थापा
धरान÷पूर्वाञ्चललाई नै फूलको
राजधानी रुपमा चिनाउनका लागि गत बर्षदेखि लगातार रुपमा सञ्चालनमा आएको पुष्प प्रदर्शनी मेला यस बर्ष पनि हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले आइबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ७ गतेदेखि ११ गतेसम्म पाचदिने दोस्रो पुष्प प्रदर्शनी मेला हुने जानकारी दिएको हो ।
फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि साथै पूर्वाञ्चललाई फूलको राजधानी बनाउने उद्देश्यका साथ यस बर्ष पनि पुष्प प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव प्रेम प्रसाद पराजुुलीले बताउनुभयो ।
पौष महिना फूल फूल्ने मध्य समय भएका कारण प्रदर्शनीमा भवेना, मेरोगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका १ सय भन्दा बढी प्रजातिका फूलहरु स्टलमा राखिने उहाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा पूर्वाञ्चलका इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ,झापा र सप्तरीका फूल व्यवसायीहरुको ३० वटा स्टलहरु रहने एसोसिएसनका सुनसरी अध्यक्ष ठगेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
कृषिमन्त्रालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा ८ लाख ५५ हजारको लाागतमा सञ्चालन हुन लागेको पुष्प प्रदर्शनीमा २ लाख भन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने र १ करोड भन्दा माथि कारोबार हुने अनुमान आयोजकले गरेको छ । प्रदर्शनीमा उत्कृष्ट स्टललाई पुरस्कृत समेत गरिने छ ।
गत बर्ष फागुन २३, २४ र २५ गते भएको तीन दिने प्रदर्शनीमा १ लाख भन्दा बढीले प्रदर्शनीको अवलोकन गरेका थिए भने ४० लाखको कारोबार भएको थियो । सो प्रदर्शनीमा उत्कृष्ट स्टलको रुपमा मोरङको दिपक नर्सरी, दोस्रोमा झापाको महोदेव नर्सरी र तेस्रो हुने सुनसरीको धरान नर्सरीलाई पुरस्कृत समेत गरिएको थियो ।
