धरान/ लिम्बुजन्य पााच पार्टी एकीकरणपश्चात पार्टीलाई अझ सशक्त र तल्लो स्तरसम्म एकीकृत गर्ने उद्देश्यले आइतबार धरानमा वृहत लिम्बुनी विचार गेष्ठीको आयोजना गरिएको छ ।
केही समय अगाडि धनकुटाको भेडेटारमा भएको वृहत भेलाले संघीय लिम्बुवान राज्य परिषद्, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा र संघीय लोकतान्त्रिक पार्टी एकीकृत भई संघीय लिम्बुवान पार्टी निर्माणसंगै पार्टीलाई अझ मजबुत बनाउने, अब बन्ने संविधानमा पहिचानसहितको संघीयता उल्लेख गर्नुपर्ने र वृहत्त लिम्बुवान गठनपछि पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले वृहत विचार गोष्ठीको आयोजना गरिएको संघीय लिम्बुवान पार्टी नेपालले जानकारी दिएको छ ।
पार्टीमा भएको विवाद समाधान, आगामी असोज ४ गते झापाको विर्तामोडमा हुन लागेको एकता घोषणासभाको तयारी तथा राज्यलाई लिम्बुवान प्राप्तिका लागि कसरी दबाब दिएर जाने भन्ने विषयमा यस गोष्ठीले सहयोग पुर्याउने लिम्बुवान एकीकृत पूर्व लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष तथा हाल एकीकृत लिम्बुवान पार्टीका बरिष्ठ नेता वीर नेम्बाङ्गले जानकारी दिनुभयो ।
लिम्बुवान जन्य पार्टी एकीकृत भएपछि अबको भावी रणनीतिका विषयमा समेत यस विचार गोष्ठीमा कुरा उठ्ने समेत जानकारी दिनुभयो ।
गोष्ठीमा संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङवा, संघीय लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष कमल छाराहाङ्ग, खगेन्द्र माखिम, पार्टीका भातृसघ संगठनका कार्यकर्ताहरुले समेत विचार गोष्ठीलाई सम्बोधन गरेका छन् ।
