धरान/पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, इलाम, तेह्रथुम, खोटाङ, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा जिल्लाबाट धरान आइ बसोबास गर्ने धराने भट्टराईरुको गोठधुप तथा धराने भट्टराईहरुको परिचय खुल्ने पुस्तक विमोचित भएको छ ।
धरान उपमहानगरपालिका वडा नं. २३ तल्लो पानमारामा शनिवार दुवै कार्यक्रम एकैसाथ सम्पन्न भएको हो । स्थानीय पुण्यप्रसाद भट्टराईको घरमा आयोजित कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले पुस्तकको विमोचन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले भन्नुभयो, भट्टराईहरुका आफ्ना परम्परा, रितिरिवाज धर्म संस्कृति के कस्तो छन् ? त्यसलाई आउने पुस्ताले कसरी ग्रहण गर्लान् ?समय अनुरुपका परम्परालाई कसरी आत्मसात गर्दै जाने आदि कुरामा आफना धारणा राख्नुभएको थियो । भट्टराईहरु स्वभावैले स्वाभिमान हुन्छन्, दु:ख गर्छन् तर भागेर हिड्ने छैनन् भन्दै उहााले प्रकाशित धराने भट्टराईहरुको परिचय खुल्ने पुस्तक एउटा महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो ।
पस्तकमाथि प्रा.डा. भरत भट्टराई र प्रा.डा. टंक भट्टराईले टिप्पणी गर्नुभएको थियो । पुस्तकमा धरानमा बसोबास गर्ने १ सय २९ घरधुरी भट्टराईहको नालीबेली, सन्तान आदि विवरण उल्लेख गरिएको छ । पुस्तकको सम्पादन भवानी शंकर भट्टराई र भरत सेनाली भट्टराईले गर्नुभएको हो ।
