अविरल वर्षाका कारण माथीबाट झरेको ढिस्कोले घर भत्किएर पुरिदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार बर्षिय अंशु तामाङ र तिन बर्षिय अमृत तामाङ रहेका छन् । विहान करिव २ वजेको समयमा माथीबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनिहरुको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिनुभयो ।उाहाका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षिय सिता तामाङ र दिदि १२ वर्षिय अस्मिता तामाङ घाईते भएका छन् । उनिहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको जनाईएको छ ।
यता मेची राजमार्ग अन्तरगत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथीबाट झरेको पहिरोले बाटो अबरुद्ध भएको छ । अविरल बर्षाका कारण गएराती झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भईरहेको प्रहरीले जनाएको छ । सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन विचमै अलपत्र परेका छन् । मध्य राती देखि ताप्लेजुङमा लगातार वर्षा भईरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानियबासी त्रसित भएका छन् ।
