बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ, नगद र डिजिटल तराजु बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले उनको घरबाट ब्राउन सुगर, ट्याब्लेट, नगद रकम तथा डिजिटल तराजु बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत जेठ २४ गते राति १०ः३० बजे बराहक्षेत्र नगरपालिका–७, सृजना टोलस्थित २५ वर्षीय रवि श्रेष्ठको घरमा लागू औषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले श्रेष्ठको सुत्ने कोठामा खानतलासी गर्ने क्रममा कोठाको धुरीमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ ५.१७ ग्राम, ‘ल्१’ लेखिएको १६३ थान ट्याब्लेट, नगद ४५ हजार ९ सय रुपैयाँ तथा एक थान डिजिटल तराजु फेला पारेको जनाएको छ ।


बरामद सामग्रीसहित श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय
सुनसरीले लागू औषध नियन्त्रण तथा अवैध कारोबारविरुद्धको अभियानलाई निरन्तरता दिइएको बताउँदै यस्ता गतिविधिबारे सूचना भएमा प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया