इनरुवा । जिल्ला अदालत सुनसरी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको छ । गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालत तथा प्रशासन कार्यालयको फैसलाबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये लागू औषध, नियन्त्रित औषधि, अभद्र व्यवहार, बिगो, अंशचलन तथा कुटपिट सम्बन्धी मुद्दाका प्रतिवादीहरू रहेका छन् । उनीहरूबाट ७९४ दिन कैद सजाय र १ लाख १० हजार ३ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्रका दशरथ मगर, धनकुटाका मनमोहन श्रेष्ठ, इनरुवाका टेकनारायण श्रेष्ठ, दुहवीका ललनकुमार मेहता, देवानगञ्जका जयराम यादव, ममतादेवी यादव, जानकी यादव र रञ्जित यादव तथा मोरङको सुन्दरहरैँचाका धिरज राई रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालत तथा प्रशासन कार्यालयबाट भएका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार प्रतिवादी खोजतलास तथा पक्राउ अभियानलाई निरन्तर जारी राखिने जनाएको छ । प्रहरीले न्यायिक निर्णयको पूर्ण कार्यान्वयनमार्फत सुरक्षित, विधिसम्मत र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
