विराटनगर । विराटनगरमा राष्ट्रव्यापी कविता प्रतियोगितासँगै नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान पु¥याउनुहुने स्रष्टाहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.ले शनिवार आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा नेपाली साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै धरानका प्रा.डा. टंक न्यौपाने, इटहरीका प्रा. बद्री विशाल पोख्रेल र बसुन्धरा झालाई सम्मान गरेको हो । चार दर्जनभन्दा बढी कवि तथा कवयित्रीहरुको सहभागिता रहेको कविता प्रतियोगितामा सातै प्रदेशका कवि तथा कवयित्रीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा जाँजरकोटका सदासय गौतम प्रथम, विराटनगरकी नानुमैया दाहाल दोस्रो, काठमाडौँकी सुशिला पौड्याल तृतीय भएकी थिइन् भने झापाका निकेश डाँगीको कविताले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । जाजरकोटका गौतमको नयाँ युग रच्ने हामी नेपाली, दाहालको म विर्खे कामी हुँ, पौड्यालको मातृभूमिको आह्वान र डाँगीको भान्साको युद्ध कवितालाई निर्णायक मण्डलले मूल्यांकन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले प्रतियोगी कवि, कवयित्री एवं स्रष्टाहरुलाई पुरस्कार, प्रमाणपत्र एवं दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘साहित्य आफैँमा विविधताले भरिएको छ । साहित्यले समाजमा भएका विकृति, विसंगति, विद्रोह, मिलन–विछोड, माया–प्रेम, प्रकृति, सुशासन सबैलाई समेट्न र समाज परिवर्तनका लागि महत्वपूर्ण माध्यम भएको छ ।’ यसैगरी आयोजक संस्था राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले सहकारीले बचतकर्ता र अप्ठेरोमा परेकाहरुलाई सर्वसुलभ ऋण प्रवाह गर्नुकासाथ कला, साहित्य र संस्कृतिको जगेर्नामा समेत स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।
