परालको कुन्युमा भीषण आगलागी

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १६ बालग्राम पश्चिम रहेको गोरखा डिपार्टमेन्ट स्टोरद्वारा सञ्चालित गोरखा डेरी उद्योगको परालको कुन्युमा भीषण आगलागी भएको छ ।
शनिबार साँझ आएको हावाहुरी पानीसँगैको चट्याङ परालको कुन्युमा खस्दा आगलागी भएको डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले जानकारी दिनुभयो । शनिबार साँझ करिब ७ बजे परेको चट्याङले तीनवटा परालको कुन्यु पूर्ण रूपमा जलेका छन् । गोठभन्दा केही मिटर मात्र नजिक रहेको कुन्युमा आगलागी भएपनि गाईवस्तुलाई भने कुनै क्षति नपुगेको समेत आचार्यले जानकारी दिनुभयो ।

गोठमा उन्नत जातका १५० भन्दा बढी गाई रहेका छन् । शनिबारदेखि लागेको आगो आइतबार साँझमा मात्र नियन्त्रणमा आएको थियो । इटहरी उपमहानगरपालिकामा दमकल नहुँदा छिमेकी पालिकाहरू इटहरी, इनरुवा, दुहबी, विराटनगरबाट दमकलले आगो नियन्त्रणमा लिएका थिए । यसका अलावा इटहरी वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरीसहितको स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा सक्रिय रहेको थियो । आगलागीबाट झण्डै २५ लाख मूल्य बराबरको क्षति भएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया