धरान । उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको कोशी सडक आयोजनाको अन्तिम विन्दु किमाथांकासम्म यातायातका साधन पुगेसँगै भोटखोलाका स्थानीयहरू हर्षित बनेका छन् ।
भारतको दक्षिणी सीमा नाका जोगबनीबाट संखुवासभाको खाँदबारी सम्मको २ सय किमी सडक पूर्ण रूपमा कालोपत्रे रहेको छ । खाँदबारीबाट किमाथांकासम्मको १६२ किमी सडक मध्ये च्याम्ताङ–घोङगोप्पा सडक खण्डको १४ किमी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले उक्त खण्डको एलाइनमेन्ट परिवर्तन गरी १०.८९ किमीमा सीमित गरी २०७६ सालदेखि ट्रयाक खोल्न शुरु गरेको थियो । नेपाली सेनाको विकास निर्माण निर्देशनालयले अत्यन्तै कडा चट्टान भएको संखेभीरको ट्रयाक खोलेर वैशाख २८ गते कर्णेल शम्शेर सिंहले खाँदबारी–किमाथांका सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङलाई एक समारोहबीच हस्तान्तरण गर्नुभएको थियो । च्याम्ताङ–घोङगोप्पा सडकको ट्रयाक सेनाले छोट्याएपछि अब खाँदबारी–किमाथांका सडकको दूरी १५७ किमी कायम भएको छ । ३ सय ५७ किमी सडकमध्ये १५७ किमी सडकको कालोपत्रेको काम अगाडि बढेको छ । आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार बरुण दोभानसम्मको ८० किमी सडक कालोपत्रेका लागि तयारी अवस्थामा रहेको छ । प्याकेजमा कालोपत्रेको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । खाँदबारीदेखि नुमसम्मको ३९ किमी सडक खण्डमा हाल कालोपत्रेको काम भइरहेको छ । नुमसम्मको ३९ किमीमध्ये १५ किमीभन्दा बढी सडक कालोपत्रे भइसकेको समेत प्रमुख गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नुमभन्दा अगाडि बरुण दोभानसम्मको ४१ किमी सडक कच्ची रहेको छ । हाल उक्त क्षेत्रमा ड्रेन बनाउने, तारजाली लगाउने, सडक चौडा गर्ने लगायतका काम करिब करिब अन्तिम चरणमा पुगेको छ । करिब–करिब कालोपत्रेको अवस्थामा पुगेको छ । हाल खाँदबारीबाट नुम हुँदै बरुण दोभानसम्म यातायातका साधनहरू सञ्चालन भइरहेका छन् ।


आयोजना प्रमुख गुरुङका अनुसार बरुण दोभानभन्दा अगाडि अर्थात् भोटखोला गाउँपालिका क्षेत्रमा सडक स्तरोन्नति भइरहे पनि चुनौतीपूर्ण अवस्थामा रहेको छ । नेपाली सेनाले च्याम्ताङ–घोङगोप्पा सडक खण्डको १०.८९ किमी ७ मिटर चौडाइको डबल लेन निर्माण गरे पनि अन्यत्रको सडकको अवस्था चुनौतीपूर्ण नै रहेको छ । यद्यपि नेपाली सेनाले सडक आयोजनालाई सडक हस्तान्तरण गरेपछि पहिलो पटक तीन वटा ट्याक्टर खाद्यान्न बोकेर सीमानाका किमाथांका पुगेको गुरुङले जानकारी दिनुभयो । संखेभीरको सडकको ट्रयाक खुलेर औपचारिक रूपमा आयोजनालाई हस्तान्तरण गरेपछि पहिलो पटक खाद्यान्न बोकेर ट्याक्टर किमाथांका पुगेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्दी शेर्पाले जानकारी दिनुभयो । खाद्यान्न बोकेको ट्याक्टरहरू किमाथांकाको स्कुल डाँडामा पुग्दा स्थानीयहरू हर्षित भएका थिए । स्थानीयले गाउँमा खाद्यान्न बोकेर ट्याक्टर पुग्दा ट्याक्टरका चालक, स्काभेटरका चालक, सडक आयोजनाका टोलीहरूको भव्य स्वागत गरेको भोटखोला गाउँपालिका वडा नं. १ किमाथांकाका वडाध्यक्ष नुर्पु च्यावाले जानकारी दिनुभयो । बरुण दोभानमा मोटरेबल पुल बनेपछि किमाथांकासम्मको यात्राको बाटो खुले पनि सडकको दुरावस्थाले यात्रा जोखिमपूर्ण रहेको छ । यद्यपि, हाल च्याम्ताङ–घोङगोप्पा सडक खण्ड छोडेर ७७ किमी सडकको स्तरोन्नति गर्ने काम जारी छ । तर वर्षासँगैको बाढी, पहिरो, कठिन भूगोल, भीरका कारण अपेक्षाकृत ढंगले काम अगाडि बढ्न सकेको छैन । च्याम्ताङ–घोङगोप्पाभन्दा अगाडि किमाथांकासम्मको १४ किमी सडक चिनियाँ सहयोगमा केही वर्ष अगाडि नै ट्रयाक खुले पनि उक्त सडक दुरावस्थामा रहेको छ । समयमा मर्मतसम्भार हुन नसक्दा दर्जनौँ स्थानमा पहिरोले सडक बगाएको छ । जेठ १ गते तीन वटा ट्याक्टर खाद्यान्न बोकेर किमाथांका जाँदा अगाडि स्काभेटरले सडकको पहिरो पन्छाउँदै गएको थियो । सडक निर्माणको काम चुनौतीपूर्ण भए पनि आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भोटखोला क्षेत्रका स्थानीय बासिन्दाहरूको आर्थिक, सामाजिक एवं व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने स्थानीय फुर्वा शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भोटखोला अलैँची जोन हो । यहाँ उत्पादित अलैँची विगतमा भरिया लगाएर बरुण दोभानसम्म पु¥याउनुपथ्र्यो । त्यहाँबाट ट्याक्टर वा अन्य साधनबाट नुम वा खाँदबारी पु¥याउनुपथ्र्यो । तर सडक निर्माण भएपछि त्यो झन्झट रहँदैन ।’यस अघि जडीबुटी, छुर्पी, गलैँचा लगायतका सामानहरू चिनियाँ बजारमा पु¥याउनु पर्ने बाध्यता थियो ।
