दम्भ, अहंकार, घमण्डले सिद्धिदै राजनीतिक दल

कथित विशेष महाधिवेशनको आडमा पार्टी सभापतिको मुखुण्डो भिरेका काँग्रेस सभापति, एमालेलाई आदर्श र विचारभन्दा पनि दम्भ, अहंकार र घमण्ड प्रदर्शन गर्ने अध्यक्ष, डर, धाक देखाएर सत्ताको रोटी सेक्दै आएका पूर्व माओवादी र आदर्श, योजना, विचारविहीन श्रम संस्कृति पार्टीको राजनीतिक दिवालियापनका कारण जनमासबाट टाढिँदै गएका छन् ।
काँग्रेसको कथित सभापतिका पछिल्ला अभिव्यक्ति देख्दा राजनीतिक दलभन्दा पनि दिशाविहीन झुण्डको रूपमा परिणत भएको आभास हुन्छ । संसदमा आफ्नो दलको औकात र हैसियतको ख्याल गरेर बोल्नुपर्दैन ? पदीय जिम्मेवारीको मर्यादा कायम राख्नुपर्दैन ? जनताले तिरस्कार गरेको आफ्नै हैसियततर्फ फर्केर चिन्तन गर्नुपर्दैन ? काँग्रेसमा आफूले कति योगदान गरेको छु भन्ने कुराको मनन गर्नुपर्दैन ? फगत सस्ता भाषण छाँटेर, पार्टीको आदर्श, विचारलाई तिलाञ्जली दिएर, अग्रजको अपमान गरेर अबको राजनीतिमा स्थापित हुन सकिँदैन भन्ने कुरा तिनलाई किमार्थ जानकारी देखिएन । कसैमाथि विषवमन गर्दैमा, चर्को स्वरमा मञ्चको माइक फुट्ने गरी चिच्याउँदैमा अब नेपाली मतदाताले पत्याउनेवाला छैनन् । हिजोका दिनमा राष्ट्रघाती एमसिसी पास गर्ने भूमिका खेलेको अनुहार नेपाली जनताले भुलेका छैनन् । सत्तामा बस्दा गरेका नियुक्ति लाभ आफ्नै कार्यकर्ताले बिर्सिएका छैनन् । आफू सत्तामा छँदा अध्यादेश ल्याउने तर अरूले ल्याउँदा राष्ट्रियसभाबाटै रोक्ने चेतावनी दिनु, आउँदो निर्वाचनमा अर्थात् स्थानीय तथा प्रदेशमा शेरबहादुर देउवा पक्षका सबै उम्मेदवारलाई हराउन आफ्ना झोलेहरूलाई निर्देशन दिनु, सरकार कसरी चलाउनुपर्छ भन्ने कुरा हामी सिकाउँछौँ भन्नु पतनोन्मुखतर्फ उन्मुख मात्र हो । नेपाली जनताले ३५ वर्षदेखि केवल भाषण मात्र सुन्दै आएका छन् । अब भाषणभन्दा पनि परिणाम चाहेका छन् । उता एमालेका अध्यक्ष यतिबेला आफ्नै पार्टी पंक्तिबाट बहिष्कृत हुन थालेका छन् । वर्तमान राजनीतिक परिवेशमा आफ्नो उपादेयता सिद्धिएको तिनले अझै महसुस गर्न सकेका छैनन् । मेजर पोर्टफोलिमा बसेका नेताहरूले नै अब नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । यो एमालेका लागि शुभसंकेत हुनै सक्दैन । उता पूर्व माओवादी यतिबेला तीव्र पतनको गतिमा अगाडि बढेको छ । आजीवन पार्टी सभापति रहने योजनाका साथ हिँडेकै कारण हिजोका आफ्ना निकट सम्पूर्ण सहकर्मीहरू एकपछि अर्को गर्दै पलायन भइरहेका छन् । ग्राउन्डमा कार्यकर्ता सिद्धिएका छन् । तर पनि घमण्ड चरम चुलीमा छ । युद्ध अपराध र भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा राज्यले आफ्नो गतिविधि अगाडि बढाएपछि ती आत्तिएका छन् । जसका कारण कहिले जंगल पस्ने चेतावनी दिन्छन् त कहिले देशैभरि आन्दोलन गर्ने कथित घोषणा गर्छन् । तर नागरिक स्वरबाट कुनै प्रकारको साथ सहयोग नपाउने निश्चित छ । सबैभन्दा आश्चर्यको कुरा के छ भने जन्मेर ताते नसर्र्दै अवसानको बाटोमा श्रम संस्कृति पार्टी देखिएको छ । मुलुकको विधान, कानुनको सामान्य ज्ञानसमेत नदेखिएको उक्त पार्टी केही न्यून संख्याका साथ संसदमा छिरेर दुई तिहाइको जनादेश पाएको सरकारको हास्यास्पद ढंगले राजीनामा माग गर्नेमा आफ्नो समय व्यतीत गरिरहेको छ । उसलाई संसदमा के बोल्नुपर्छ, कस्ता मर्यादा कायम राख्नुपर्छ भन्ने सामान्य ज्ञानसमेत देखिएन । आफ्ना क्षेत्रका नागरिकको समस्या, किसानका कार्यहरूमा संसदमा आवाज उठाउनुको सट्टा औकात बिर्सिएर प्रधानमन्त्रीको राजीनामा माग्नु पतनतर्फ अग्रसर हुनु हो । धार्मिक सहिष्णुता भाँड्नु, जातीय एकतामा विरोधाभास पैदा गर्नुलाई राजनीति मान्न सकिँदैन ।

तपाईको प्रतिक्रिया