धरान । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठप्रति राज्यले गरेको दुव्र्यवहारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार उसले एक विज्ञप्ति जारी गर्दै समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नुपरेको महासंघ काठमाडौं शाखाले जनाएको छ ।


विज्ञप्तिमा भनिएको छ, गृहमन्त्रालयको जिम्मेवारी समेत लिएका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिने जस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराउनुभएको छ । समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ । महासंघ प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसँग माग गर्दछ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।
