४ सय ७५ केजी गाँजा बरामद

इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नं. ४ हेडक्वाटर सुनसरीले कोशी नदीमा आज गरेको अपरेसनमा ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । कोशी नदीमा बाँस बगाएर चतरा व्यवसायिक प्रयोजनका लागि लिएर आउने धनकुटा, भोजपुर, उदयपुर, खोटाङका स्थानीयसँगै गाँजा समेत लुकाई छिपाई ल्याउने गरेका छन् । कोशी नदीमा सशस्त्र प्रहरीले गरेको अपरेसनमा तेह्रहार्डीको किनारमा बालुवामा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरेको हो । गाँजा कसले र कहिले ल्याएर लुकाइ राखिएको थियो भन्ने सम्बन्धमा केही खुल्न सकेको छैन ।

धनकुटा, भोजपुर, उदयपुर, खोटाङमा ठूलो मात्रामा गाँजा उत्पादन हुने गरेको र समय समयमा प्रहरीले देखाउटी रूपमा गाँजा फडानी गरे पनि किसानसँगको सेटिङमा उनीहरूले घर छेउछाउका करेसा बारीहरूको मात्र फडानी गरेर फर्किने गरेको धनकुटा शहीदभूमिका राजकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सेटिङमै गाँजा भारत पुग्ने गरेको छ । यसका लागि भारतीय व्यापारीहरू गाँजा खरिदका लागि सीमासम्मै आउने गरेको उहाँले सुनाउनुभयो । कतिपय अवस्थामा गाँजा बरामद प्रहरीसँगको सेटिङ नमिल्दा मात्र सार्वजनिक हुने गर्छ । अन्यथा सबै सेटिङमै बजार पुग्ने गरेको समेत उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया