ताप्लेजुङको सुकेपानीमा बेलिब्रिज

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सुकेपानीस्थित तमोर नदीमा बेलिब्रिज (पुल) जोड्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । यो पुल निर्माण भएपछि ओलाङचुङगोला हुँदै सीमावर्ती टिप्तला भञ्ज्याङ हुँदै चीनको सेर्पा फस्ट भिलेज, चयाङताङ सहर, डिङ्जे काउन्टी, छिजाङ अटोनोमस रिजन जस्ता स्थानसँगको आवागमन सहज हुने भएको छ । सडकको ट्रयाक दुई वर्ष अगाडि नै खुलेपनि सुकेपानीमा पुल नभएका कारण कुनैपनि यातायातका साधन ओलाङचुङगोला पुग्न सकेका थिएनन् । पुल निर्माण भएपछि ओलाङचुङगोलाबासीको लागि चीनको प्रमुख व्यापारिक केन्द्र रिउ बजारसँग सिधै सम्पर्क हुने फक्तालुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।

यसैगरी स्थानीयहरूको श्रमदान र गाउँपालिकाको सहयोगमा फक्तालुङ गाउँपालिका वडा नं. ६ लुङथुङ र ओलाङचुङगोलालाई जोड्ने थाक्पा खोलामा काठे पुल निर्माण शुरु भएको छ । गत वर्षको बाढी पहिरोले थाक्पा खोलाको पुल बगाएपछि खोलाबाटै स्थानीयहरूले जोखिमपूर्ण आवागमन गर्दै आएका थिए । यसैगरी ओलाङचुङगोला हिलेमा निर्माण भएको फोरजी टावर जेठ २ गतेदेखि सञ्चालनमा आएपछि ओलाङचुङगोलाबासीले सञ्चारको सहज सुविधा पाएका छन् । टावरले साविकको ओलाङचुङगोला गाविस वडा नं. ९ को याङमा र छ्याक वरिपरि पनि सम्पर्क गर्न सकिने भएको छ । हिले डाँडामा फोरजी टावर र लुवा डाँडामा टावरका लागि डिभाइस जडान गरिएको छ । यसभन्दा अगाडि ओलाङचुङगोलाबासी, लुवा डाँडा, याङमाका स्थानीयले चिनियाँ सञ्चार प्रविधिको प्रयोग गर्न बाध्य भएका थिए ।

तपाईको प्रतिक्रिया