धरान । रंगेली नगरपालिका तथा आसपासका क्षेत्रमा मुख्य तथा शाखा सडकको आधाभन्दा बढी भाग ओगटेर मकै सुकाउने प्रचलन अझै रोकिएको छैन । हुलाकी राजमार्गसहित विभिन्न सहायक सडकमा किसानहरूले बिस्कुन फैलाएर मकै सुकाउँदा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । एक वर्षअघि यही समस्याकै कारण रंगेली–७ निचामारीमा भएको दुःखद घटनाले स्थानीयलाई स्तब्ध बनाएको थियो । गत वर्ष जेठ ५ गते सडकमा सुकाइएको मकैका कारण बाटो साँघुरो हुँदा ट्याक्टरको ठक्करबाट १३ वर्षीया एक बालिकाको ज्यान गएको थियो । उक्त घटनापछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए भने नगरपालिका र स्थानीय प्रशासनले सडकमा अन्नबाली सुकाउन रोक लगाउने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन प्रभावकारी हुन नसक्दा अहिले पनि अवस्था उस्तै देखिएको छ । किसानहरूले सडकको ठूलो हिस्सा ढाक्नेगरी मकै सुकाइरहेका छन् । कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग ढाकिँदा सवारी साधन सञ्चालन जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ ।

विवाद चर्किएपछि गत वर्ष रंगेली नगरपालिकाले सर्वपक्षीय छलफलमार्फत हुलाकी राजमार्ग तथा कानेपोखरी,रंगेली सडक क्षेत्रमा सर्तसहित मकै सुकाउन दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार राजमार्ग र सहायक सडकको अधिकतम २० प्रतिशत क्षेत्रभित्र मात्र बिस्कुन सुकाउन पाइने व्यवस्था गरिएको थियो । छलफलमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, किसान, प्रहरी र नगरपालिकाका पदाधिकारी सहभागी भएका थिए । तर व्यवहारमा भने नगरपालिकाले तोकेको मापदण्ड पालना भएको देखिँदैन । अहिले पनि अधिकांश स्थानमा तोकिएको सीमा नाघेर सडकभरि मकै फैलाइएको पाइन्छ । जसका कारण दुर्घटनाको जोखिम फेरि बढ्न थालेको छ । स्थानीय कृषकहरू भने सडकमा मकै सुकाउनु आफ्नो बाध्यता भएको बताउँछन् । उनीहरूका अनुसार रंगेली आसपासका क्षेत्रमा मकै खेती आम्दानीको मुख्य स्रोतका रूपमा रहेको छ । हजारौँ बिघा क्षेत्रफलमा उत्पादन हुने मकै सुरक्षित रूपमा सुकाउने उपयुक्त स्थान नहुँदा सडक नै विकल्प बन्न पुगेको हो । स्थानीय कृषक जितेन्द्र पोद्धारले घरमा यति धेरै मकै सुकाउने ठाउँ नभएपछि बाध्यतावस सडकमै सुकाउने गरेको बताउनुभयो । उहाँले सडकमा मकै सुकाउदा कसैले नसुका भनेर अहिलेसम्म भन्न नआएको बताउनुभयो । त्यस्तै अर्का कृषक नन्दन साहले एक महिनापछि सडकमा कसैले केही नसुकाउने तर यो एक महिना मकै कृषकको आम्दानीको स्रोत भएकोले पनि सडकमै मकै सुकाउने गरिएको बताउनुभयो । उहाँले छिटो मकै सुक्ने र तत्कालै विक्री हुने भएकोले पनि सडक मकै सुकाउने विकल्पको रुपमा रहेको बताउनुभयो । सडकमा जथाभावी बिस्कुन सुकाउँदा पैदलयात्री, मोटरसाइकल तथा साना सवारी बढी जोखिममा पर्ने गरेका छन् । विशेषगरी साँझ र बिहानको समयमा दुर्घटनाको सम्भावना उच्च हुने गरेको पाइएको छ । नगरपालिकाले मापदण्ड बनाएको भए पनि कार्यान्वयन कमजोर हुँदा रंगेली क्षेत्रमा सडकमै मकै सुकाउने समस्या अझै समाधान हुन सकेको छैन । समयमै प्रभावकारी कदम नचालिए विगतको जस्तै दुःखद घटना दोहोरिन सक्ने सम्भावना बढेर गएको छ ।
