धरान बसपार्क अझै अलपत्रः संरचना तयार, सञ्चालन अन्योलमा

धरान । धरानको बढ्दो ट्राफिक चाप व्यवस्थापन गर्ने लक्ष्यसहित दुई दशकअघि सुरु गरिएको नयाँ बसपार्क निर्माण अन्ततः सम्पन्न भएको छ । तर, भौतिक संरचना तयार भइसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा नआउँदा परियोजनाको उद्देश्य अझै अधुरै देखिएको छ । धरान–८ स्थित सुन्दर बस्तीमा करिब एक विघा सात कठ्ठा क्षेत्रफलमा फैलिएको आधुनिक बसपार्क २३ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। उक्त परियोजना बिकोइ गीताञ्जली जेभी ले निर्माण गरेको हो । बसपार्कको शिलान्यास २०७५ माघ २६ गते तत्कालीन कोशी प्रदेशका सभामुख प्रदीप कुमार भण्डारी ले गर्नुभएको थियो भने त्यसपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ले समेत अवलोकन गर्नुभएको थियो । सुविधा सम्पन्न रूपमा तयार गरिएको बसपार्कमा करिब ३ सय यात्रु अट्ने प्रतिक्षालय, आधुनिक टिकट काउन्टर, एटीएम बुथ, सिसीटिभी निगरानी, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष तथा मिनीमार्टको व्यवस्था गरिएको छ। साथै, यात्रु चढ्ने–ओर्लने व्यवस्थित प्लेटफर्म र २२ वटा अटो सञ्चालन गर्न मिल्ने छुट्टै स्थान पनि निर्माण गरिएको छ ।

यद्यपि, सञ्चालनमा ल्याउने विषयमा अझै अन्योल कायम छ। यातायात व्यवसायी सरोज श्रेष्ठका अनुसार बसपार्क निर्माण सम्पन्न हुनु सकारात्मक भए पनि तत्काल स्थानान्तरण गर्दा यात्रु पहुँच, व्यवस्थापन र व्यवसायमा पर्ने असरबारे स्पष्ट योजना आवश्यक छ । “व्यवसायीहरू तयार छन्, तर एक्कासी भानुचौकबाट सार्दा चुनौती आउन सक्छ,” उहाँले बताउनुभयो । यता धरान उपमहानगरपालिका का कार्यवाहक मेयर अइन्द्र विक्रम बेघा ले बसपार्क सञ्चालनमा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको जनाउनुभएको छ। उहाँका अनुसार केही कानुनी तथा व्यवस्थापकीय प्रक्रिया बाँकी रहेकाले ढिलाइ भएको हो। नगर गौरव आयोजनाअन्तर्गत रहेको यो बसपार्क छिट्टै सञ्चालनमा ल्याउन व्यवसायीहरूसँग निरन्तर समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
बसपार्कसम्म पुग्ने पहुँच मार्ग र आधारभूत पूर्वाधार तयार भइसके पनि सरोकारवालाबीच समन्वय अभावले काम अड्किएको देखिन्छ । व्यवसायीहरूले यात्रु सुरक्षा र सुविधा सुनिश्चित गर्दै स्पष्ट कार्ययोजना ल्याउन माग गरिरहेका छन् । २३ वर्षअघि सुरु भएको यो महत्वाकांक्षी आयोजना भौतिक रूपमा सम्पन्न भएसँगै अब यसको प्रभावकारी सञ्चालनमार्फत धरानको ट्राफिक व्यवस्थापन सुधार्नु उपमहानगरपालिकाको प्रमुख चुनौती बनेको छ। सर्वसाधारणले भने दीर्घकालीन सोच र सहमतिका आधारमा बसपार्क सञ्चालनमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया