सुनसरी । सुनसरीको इनरुवा क्षेत्रमा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोकमा गरिएको नियमित चेकजाँचका क्रममा उक्त सफलता हात लागेको हो । इनरुवा नगरपालिका–४ स्थित बसचोकमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकिङका क्रममा मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा जिल्ला मोरङ केराबारी नगरपालिका–५ बस्ने ३२ वर्षीय खगेन्द्र मगर (बिमल) ले चलाएको मे २ प ९८७९ नम्बरको मोटरसाइकलबाट ६.६५ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त पदार्थसहित मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
