धरान । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरहीन हुने भन्ने भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाएको छ । प्रतिष्ठानले यस्ता अफवाहहरू निहित स्वार्थबाट प्रेरित भएको बताउँदै जनमानसमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गरेको छ ।
प्रतिष्ठानका अनुसार स्थापना कालदेखि नै करिब तीन दशकदेखि क्यान्सरका बिरामीलाई निरन्तर सेवा प्रदान हुँदै आएको छ । पूर्वी नेपालमै क्यान्सरसम्बन्धी शल्यक्रिया सुरु गर्ने पहिलो संस्थाका रूपमा रहेको प्रतिष्ठानमा हाल शल्यक्रिया र सिस्टेमिक थेरापी (किमोथेरापी, हर्मोनल र टार्गेट थेरापी गुणस्तरीय रूपमा उपलब्ध रहेको जनाइएको छ । आर्थिक रूपमा कमजोरदेखि सबै वर्गका बिरामीलाई सुलभ सेवा प्रदान गर्दै आएको प्रतिष्ठानले घरमै उपचार सेवा, क्यान्सर स्क्रिनिङ, अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य तथा दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा मात्र ३१७ जना क्यान्सर बिरामीको शल्यक्रिया, २७२८ जनालाई बहिरङ्ग तथा ९२२ जनालाई अन्तरङ्ग सिस्टेमिक थेरापी सेवा प्रदान गरिएको तथ्यांकले सेवा प्रभावकारी र गुणस्तरीय रहेको पुष्टि गर्ने प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानले उपचारलाई अझ प्रभावकारी बनाउन निकट भविष्यमा रेडियोथेरापी सेवा सुरु गर्ने तयारी गरिरहेको जनाएको छ । साथै, ‘प्रतिष्ठानमा क्यान्सरको उपचार हुँदैन’ भन्ने भ्रामक समाचारबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
