धरान । पौराणिक कालदेखि रुद्राक्षारण्यका रूपमा परिचित धरानको पिण्डेश्वर मन्दिर यतिबेला भक्ति, श्रद्धा र आध्यात्मिक उत्साहले भरिएको छ । धार्मिक आस्था र पर्यटन प्रवद्र्धनलाई जोड दिँदै पिण्डेश्वर मन्दिर केन्द्रित दोस्रो पिण्डेश्वर रथोत्सव’ भव्य रूपमा सुरु भएको छ । समुद्र मन्थनबाट प्राप्त अमृतको पिण्ड यहाँ स्थापित रहेको जनविश्वासका रहेको मात्र छैन पिण्डेश्वर महादेवको धार्मिक महत्व पौराणिक ग्रन्थहरुमा समेत उल्लेख छ । यही कुरालार्ई जनमानससम्म पु¥याउने उद्देश्यले पिण्डेश्वर बाबाधाम समितिले चैत ५ देखि १९ गतेसम्म १५ दिने विशेष रथोत्सव आयोजना गरेको हो । रथोत्सवअन्तर्गत पहिलो दिन दन्तकाली मन्दिर, पञ्चकन्या मन्दिर र बुढासुब्बा मन्दिर हुँदै पिण्डेश्वरसम्मको धार्मिक रथयात्रा आयोजना गरिएको छ । यसका साथै, दैनिक रुद्री पूजा, बेलुकाको भजन–कीर्तन तथा विशेष दिनहरूमा तीर्थस्थलहरूमा गरिने अतिरिक्त रथयात्राले कार्यक्रमलाई थप जीवत बनाउने अपेक्षा लिइएको छ ।
यस महोत्सवले धरानका प्रमुख धार्मिक स्थलहरूलाई एउटै सूत्रमा गाँसेर सञ्चालन गरिएको यो रथयात्राले धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र पर्यटन प्रवद्र्धनको सशक्त सन्देश दिएको छ । पर्यटन व्यवसायी बासुदेव बरालले यो रथोत्सवले धरानलाई राष्ट्रिय स्तरसम्म मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


त्यस्तै, शिक्षाविद् प्रा.डा. राजेन्द्र शर्माले रथोत्सवलाई शास्त्रमा वर्णित रुद्राक्षारण्यको महिमालाई व्यवहारमा उतार्ने ऐतिहासिक अवसरका रूपमा लिइएको बताउनुभयो । उहाँले अन्य ठाउँमा भएका मठ मन्दिरमा विभिन्न प्रकारका धार्मिक कार्यक्रमले त्यस ठाउको ऐतिहासिकता झल्काएसँगै पिण्डेश्वर मन्दिरमा हुने रथोत्सवले पनि निरन्तरतासँगै यहाँको पौराणिक मान्यतालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो । पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास वनेपालीले चैत ५ देखि १९ सम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम तय गरिएको जानकारी दिँदै सम्पूर्ण भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा दिनुभएको छ । रथोत्सवको आयोजनाले मन्दिरको ऐतिहासिकतासँगै पौराणिक ग्रन्थमा भएको कुरालाई जनमानसमा उजागर गरेर धार्मिक सर्किटको अवधारणलाई सहयोग पुग्ने बताउनुभयो । पिण्डेश्वर मन्दिरमा रहेको अमृत पिण्ड र यहाँको जलस्पर्शले पाप नाश हुने जनविश्वासका कारण भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ । रुद्री पूजा, भजन(कीर्तन र रथयात्राले धरानको वातावरण पूर्ण रूपमा आध्यात्मिक बनेको छ भने स्थानीय प्रशासन र विभिन्न संघसंस्थाको सहकार्यले कार्यक्रमलाई अझ व्यवस्थित बनाएको छ । यो रथोत्सवले पौराणिक, ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल रुद्राक्षारण्यक्षेत्र धरान विजयपुरको धार्मिक गरिमा बढाउनुका साथै स्थानीय अर्थतन्त्र र पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
