अति महत्वाकांक्षी र पदलोलुपताको पर्याय सावित नेपाली काँग्रेसका अल्पकालीन सभापतिले अब कुन नैतिक धरातलमा टेकेर बस्ने ? आफूसँग सिंगो पार्टीलाई रसातलमा पु¥याउँदा समेत सभापति पदबाट राजीनामा नदिनु विडम्बना हो । इतिहासमै काँग्रेस यस्तो दुर्गतिमा पुगेको थिएन । वाह्य उक्साहट र चरम पदलोलुपताले कथित विशेष महाधिवेशनको आडमा पार्टी नेतृत्व कब्जा गरे पनि विधि र विधान र राज्य सञ्चालनको मुख्य थलो संसदमा लज्जास्पद दुर्गतिमा पु¥याएका छन् । यस मानेमा गगन थापा काँग्रेसका खलपात्र सावित भएका छन् । नैतिकहीन चरित्र यतिबेला थापाको देखिएको छ । मूल नेतृत्वले नेपाली काँग्रेसको नियमित महाधिवेशन वैशाखमा गर्न कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा हतार–हतार नेतृत्व हत्याउन विशेष महाधिवेशन गरेको र आफ्ना आसेपासेको घरबारबीचबाट सभापति घोषित थापाले तुरुन्तै राजीनामा दिनुको विकल्प छैन । ठूला–ठूला स्वरमा उडन्ते गफ गरेर काँग्रेसमा स्थापित थापा रहुन्जेल काँग्रेसको अधोगतिको यात्रा निरन्तर रहने स्पष्ट छ । यसभन्दा अगाडि नेपाली काँग्रेसले प्रत्यक्षमा सभापति, केन्द्रीय सदस्य, महामन्त्रीसहित ५७ सिटमा जित हासिल गरेको थियो । तर थापाले नेतृत्व गर्नासाथ सभापतिसहित उपसभापति, महामन्त्री लगायत सबै पराजित हुन पुगे र काँग्रेस १८ सिटमा सीमित भयो । झण्डै ६८ प्रतिशत प्रत्यक्षमा सिट घट्दा यसको नैतिक जिम्मेवारी सभापतिले लिनु पर्दैन ? यतिमात्र होइन, मधेश नेपाली काँग्रेसका लागि
प्रारम्भदेखि नै उर्वरभूमि हो । विगतमा मधेशबाट ३२ सिट जितेको काँग्रेसले यस पटक ३१ सिटमा पराजय भोग्नु सामान्य कुरा होइन । अझ काठमाण्डौमै घर भएका सभापति थापाकै कारण काठमाण्डौका १० वटै स्थानबाट निर्वाचन हारेको छ । अझ थापा निकटका दासहरू भन्दैछन् सभापतिबाट राजीनामा दिनु हुँदैन । थापाका ती दासहरू या त काँग्रेस सिध्याउन लागिपरेका शकुनी हुन् या त थापासँगको विशेष सम्बन्ध भएका परिचालित हुन् । वास्तवमा थापा सभापति हुनु जनतासँगैको लेभलमै मेल नखानु हो । देशभरि काँग्रेसका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् । पराजित हुनेहरूको मतान्तर ४०–५० हजार देखिनुलाई अन्तरघातको दोषारोपण गर्नु आत्मरतिमा रमाउनुमात्र हो । काँग्रेसलाई जनताले पत्याएनन्, स्वीकार गरेनन् । यसलाई यही रूपमा बुझ्दा सार्थक हुन्छ । काँग्रेस यस्तो सर्वनामक अवस्थामा पुग्नु वर्तमान नेतृत्वको पुराना नेतृत्वप्रतिको अपमान पनि हो । पुराना नेतृत्वप्रति सम्मान गरेर नियमित महाधिवेशनबाट नेतृत्व चयन भएको भए यो अपमानजनक अवस्था आउने नै थिएन । जबकी पुरानो नेतृत्वले पुनः दोहोरिने आकांक्षा देखाएको पनि थिएन, विधानले नै दुई कार्यकाल स्पष्ट गरिसकेको अवस्थामा थियो । दुई महिना पर्खिदिएको भए पुरानाको स–सम्मान बहिर्गमन हुने थियो, उत्साहजनक ढंगले नेतृत्वप्रति काँग्रेसका कार्यकर्ता, मतदाताको विश्वास समेत बढ्ने थियो । अवैध बाटोबाट सभापति पद हत्याउने मात्र हैन आगामी प्रधानमन्त्रीको उम्मेदवार समेत थापाले आफैलाई घोषणा गर्नु नेपाली काँग्रेसका लागि हारको सबैभन्दा ठूलो कारण हो ।
