धरान । नेपाल आयल निगमले चैत्र २ गते सोमबारबाट लागू हुन गरी पेट्रोलियम पदार्थमा एकैपटक भारी मूल्य बृद्धि गरेको छ । निगमले एक विज्ञप्ति प्रकाशित गरी अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त दर कायम नगरी विक्री गर्दा केही रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्ने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेल र मट्टितेलमा १० रुपैयाँले बृद्धि गरेको जनाएको छ ।

बढेर आएको मूल्य समायोजन हुन नसकेमा नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता भुक्तानी हुन नसक्ने र यसबाट आपूर्ति प्रणालीमा थप अवरोधहरू पुग्ने अवस्था देखिएको जनाएको छ । यस विषम परिस्थितिमा नेपाल आयल निगम लिमिटेडले बाध्यतावस पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढी ्रदरमा बढाउनु परेको, यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील रहेको समेत जनाएको छ । सार्वजनिक सवारी साधनमा प्रयोग हुने डिजेलको मूल्य अत्याधिक बृद्धि भए तापनि सार्वजनिक सवारी तथा ढुवानीमा हुने सवारी साधनको सहजतालाई ध्यानमा राखी उपभोग्य वस्तुको सहज आपूर्ति एवम् सार्वजनिक सवारी साधन सहज सञ्चालनका लागि अधिकतम् लचकता अपनाई कम मूल्य बृद्धि गर्ने रणनीति अपनाएको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।
