विश्व मृगौला दिवसः धरानमा निःशुल्क परीक्षणमार्फत जनचेतना

धरान । मानव शरीरका अत्यन्त महत्वपूर्ण अंगमध्ये एक हो मृगौला । शरीरभित्रको रगत सफा गर्ने, विषाक्त पदार्थ हटाउने, पानी र नुनको सन्तुलन मिलाउने तथा रक्तचाप नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी मृगौलाले नै वहन गर्छ । तर पछिल्ला वर्षहरूमा जीवनशैलीमा आएको परिवर्तनसँगै मृगौला रोगको जोखिम पनि बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । यही सन्देश आम मानिससम्म पु¥याउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्वभर विश्व मृगौला दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइएको छ । मृगौला स्वास्थ्यको महत्वबारे जानकारी दिनु र रोगको समयमै पहिचान तथा उपचारमा जोड दिनु नै यस दिवसको मुख्य उद्देश्य हो । स्वास्थ्य विज्ञहरूका अनुसार मृगौला रोगका प्रमुख कारणमध्ये उच्च रक्तचाप र मधुमेहलाई मानिन्छ । यी रोगहरूलाई समयमै नियन्त्रण नगर्दा दीर्घकालीन मृगौला रोग हुने सम्भावना बढ्ने चिकित्सकहरू बताउँछन् । अझ मृगौला रोग प्रारम्भिक अवस्थामा स्पष्ट लक्षण नदेखिने भएकाले धेरैजसो मानिसले ढिलो गरी मात्र रोगबारे थाहा पाउने गर्छन् । यसै कारण नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, पर्याप्त पानी सेवन, नियमित व्यायाम तथा धूम्रपान र मदिरा सेवनबाट टाढा रहनु मृगौला स्वास्थ्यका लागि आवश्यक मानिन्छ ।

विश्व मृगौला दिवसको अवसरमा धरानको व्यस्त केन्द्र भानुचौकमा केएचडिसीले निःशुल्क मृगौला परीक्षण शिविर आयोजना गरेको छ । ‘सबैका लागि मृगौला स्वास्थ्य’ भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा सयौँ स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा मृगौला रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले सहभागीहरूलाई स्वास्थ्य परीक्षणसँगै परामर्श पनि प्रदान गरेको थियो । विशेषगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिहरूलाई नियमित जाँच गराउन चिकित्सकहरूले सुझाव दिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चिकित्सक डा. नुपुर थापाले मृगौला रोग धेरैजसो अवस्थामा अन्तिम चरणसम्म पुग्दासम्म स्पष्ट लक्षण नदेखिने भएकाले समयमै परीक्षण गराउनु अत्यन्त आवश्यक रहेको बताउनुभयो । शिविरमा सहभागी सेवाग्राहीहरूले बजारकै बीचमा स्वास्थ्य परीक्षणको अवसर पाउँदा आफूहरूलाई निकै सहज भएको बताएका छन् । अस्पताल जान समय र खर्च दुवै लाग्ने भएकाले यस्ता निःशुल्क शिविरले सर्वसाधारणलाई ठूलो राहत मिल्ने उनीहरूको भनाइ छ । कार्यक्रममा केएचडिसीका पदाधिकारी प्रा. डा. राजेन्द्र शर्माले मृगौला फेल हुने अवस्था आउनुअघि नै रोग पहिचान गरी उपचार गर्न सकिने भएकाले जनचेतना फैलाउनु यस्ता कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । विश्व मृगौला दिवसका अवसरमा आयोजित यस्ता कार्यक्रमहरूले मृगौला स्वास्थ्यबारे जनचेतना बढाउने र समयमै परीक्षण गराउने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया