पाँचथरको गणेशचौक–चिवा भन्ज्याङ सडक निर्माण अत्यन्तै सुस्त गतिमा

पाँचथर (फिदिम) । नेपाल सरकारको गौरवको आयोजना अन्तर्गत रहेको मध्य पहाडी लोकमार्ग (पुष्पलाल मार्ग) को उद्गम विन्दु भारतको सिक्किम राज्यसँग जोडिएको पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ स्थित चिवाभन्ज्याङ–गणेशचौक सडक खण्डको काम अत्यन्तै सुस्त देखिएको छ ।
पाँचथर जिल्लाको सदरमुकाम फिदिमको गणेशचौकबाट चिवाभन्ज्याङको दूरी ६० किमी रहेको छ । तीन वर्ष अगाडि नै गणेशचौकबाट थर्पु दोरिम्बासम्मको ९ किमी सडक कालोपत्रे भइसकेको भए पनि बाँकी ५१ किमी सडक कहिले कालोपत्रे हुने हो भन्ने टुंगो छैन । मध्यपहाडी लोकमार्ग फिदिम–भोजपुर सडक खण्डका इन्जिनियर शिवराम देवका अनुसार बाँकी ५१ किमी सडक निर्माणले गति लिन सकेको छैन । वि.सं. २०७७ साल माघ १९ गते नै पहिलो प्याकेज १२१ चिवाभन्ज्याङदेखि १६ किमी पश्चिमतर्फको सडक निर्माणको ठेक्का रोशन शिवशक्ति जेभीले ५३१,७९५,४५५.९७ मा लिएको भए पनि हालसम्म उसले २५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । यसैगरी दोस्रो प्याकेज अर्थात् प्याकेज नं. १०२ को ठेक्का सन्तोषी शिवशक्ति जेभीले १७ किमी निर्माणको ठेक्का ४६४,६०७,०७७.९३ रुपैयाँमा लिएको थियो । हालसम्म उसले १५ प्रतिशत काम पूरा गरेको छ । तेस्रो प्याकेजको १७.५ किमी रोशन शिवशक्ति जेभीले ४७३,७१७,९८७.३७ रुपैयाँमा ठेक्का पाएको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी यसले पाएको ठेक्काको हालसम्म ५० प्रतिशत काम पूरा भएको छ । इन्जिनियर देवले भन्नुभयो, काम अत्यन्तै सुस्त गतिमा भएको छ । पैसाको अभाव छैन तर पनि कामले गति लिन नसक्दा पटक–पटक म्याद थप गर्नु
परेको छ । उहाँले भन्नुभयो, गत वर्ष पनि बजेट फ्रिज भयो । यसपटक पनि त्यस्तै हालत छ । ५० करोडको ठेक्कामा वर्षमा ३–४ करोडको मात्र काम भएपछि सडक निर्माण हुन १०औं वर्ष लाग्छ । यो सडक मध्यपहाडी लोकमार्गको अत्यन्तै महत्वपूर्ण सडक हो । राज्यले समेत यसलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ । यस वर्ष पनि बजेट फ्रिज हुने देखिएको छ । ठेकेदारहरूको म्यानेजमेन्ट आन्तरिक रूपमा नमिलेको होला । काम गर्न मेसिन, मान्छे र बजेट चाहिन्छ । हामीले बजेट रोकेकै छैनौं, उहाँले भन्नुभयो ।


ठेक्का तोड्न पत्राचार
भोजपुर–फिदिम सडक आयोजनाका इन्जिनियर देवले भन्नुभयो, कामको गति बढाउन हामीले ठेकेदार कम्पनीलाई मौखिक र लिखित आग्रह बारम्बार गर्यौं । स्पष्टिकरण सोध्यौं तर पनि कामले गति लिन नसकेपछि ठेक्का किन नतोड्ने भनेर १०२ नं. प्याकेजका रोशन शिवशक्ति जेभीलाई २०८२ कार्तिक १७ गते सूचना निकालेर पत्राचार गरिसकेका छौं ।यतिमात्र नभएर हामीले फाइल उठाएर केन्द्रमा पठाइसकेका छौं । सायद यसको टुंगो लागिसकेको
होला । हामीसँग कागजात हातमा आइसकेको छैन । जनशक्ति बढाउनुस्, मेसिनको संख्या थप गर्नुस् भनेर बारम्बार भन्दा पनि अटेर गरेपछि हामीले केन्द्रमा फाइल उठाएर पठाएको उहाँले प्रष्ट पार्नुभयो ।
११ वटा पुलमध्ये ८ वटा निर्माण
गणेशचौक–चिवा भन्ज्याङ सडक खण्डमा साना–तिना कल्भर्ट बाहेक ११ वटा पुल निर्माण हुनुपर्नेमा हालसम्म ८ वटा पुल निर्माण भइसकेको, एउटा पुल निर्माणाधीन अवस्थामा रहेको र दुई वटा पुल डिजाइन पश्चात् ठेक्काको चरणमा रहेको छ । इन्जिनियर शिवराम देवका अनुसार गत वर्षको बाढी–पहिरोले निर्माण भइसकेका दुई वटा पुल पूर्ण रूपमा क्षति भएका थिए । त्यसरी क्षति भएका पुलमा फलामे खोलाको पुल र आयाम खोलाको पुल थिए । हाल मेवा खोला र खण्डुवा खोलाको पुल बनिरहेको छ । खण्डुवा खोलाको पुल ३ करोड ९२ लाख १ हजार ५ सय २८ रुपैयाँमा विरुवा–गल्ला जेभीले निर्माण गरिरहेको छ भने मेवा खोलाको पुल ७ करोड ७६ लाख ९२ हजार ९ सय ८३ रुपैयाँमा सरोज निर्माण सेवाले निर्माण गरिरहेको छ ।
चिवाभन्ज्याङसम्मै सवारी साधन सञ्चालन
सामरिक एवं कूटनीतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको चिवाभन्ज्याङसम्म साना सवारी साधन हाल सञ्चालनमा रहेका छन् । चिवाभन्ज्याङबाट सिक्किमको उत्तर बजार सबैभन्दा नजिक रहेको छ भने राजधानी गान्तोक १७० किमी टाढा रहेको छ । अक्सर हिउँ परिरहने चिवाभन्ज्याङसम्म हाल साना सवारी साधन सञ्चालनमा आएपछि आन्तरिक एवं बाह्य पर्यटकहरूको भीड देखिने गरेको छ । सडक सञ्जालले छोएपछि सडक किनारमा होमस्टेहरूको संख्या समेत हरेक वर्ष थपिँदै गएको याङवरक गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो । उहाँका अनुसार होमस्टेसँगै परम्परागत रूपमा गोठस्टेहरूमा समेत पर्यटकहरूको भीड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया