ओलीलाई हराउँदै झापा–५ मा बालेन विजयी, सामाजिक सञ्जालमार्फत ओलीको बधाई

धरान । झापा निर्वाचन क्षेत्र नं। ५ बाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएपछि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको छ। ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्, हार्दिक शुभकामना।”
झापा–५ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन्द्र साहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गर्नुभएको थियो ।

मत परिणामअनुसार साहले ओलीलाई ४९ हजार ६ सय १४ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो। यो अन्तर झापा–५ को निर्वाचन इतिहासमै उल्लेखनीय मानिएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै देशभर राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भएको छ। विशेषगरी लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा रहेका ओलीलाई ठूलो मतान्तरले पराजित गर्दै साह विजयी भएपछि यसलाई नयाँ राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ। परिणाम सार्वजनिक भएपछि ओलीले सामाजिक सञ्जालमार्फत साहलाई बधाई दिँदै उहाँको आगामी पाँच वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभएको हो। झापा–५ मा यसपटकको निर्वाचन परिणामलाई मतदाताको नयाँ राजनीतिक धार र परिवर्तनको संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ।

तपाईको प्रतिक्रिया