सुनसरीका ४ क्षेत्रमा नयाँ राजनीतिक लहर : ३ क्षेत्रमा रास्वपा अगाडि, क्षेत्र नं. १ मा हर्क राईको अग्रता

धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामले जिल्लाको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तनको संकेत दिएको छ । हालसम्मको मतपरिणाम अनुसार तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन् भने सुनसरी क्षेत्र नं. १ मा हर्क राज राई नेतृत्वको श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । सुनसरी क्षेत्र नं. १ मा हर्क राज राई ९ हजार १ सय ३३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (रास्वपा) ले ७ हजार ४ सय ७३ मत प्राप्त गर्नुभएको छ ्। यसैगरि पुराना दल अन्तर्गत नेपाली कम्युनिष्ट पाटीर्एका सूर्यबहादुर भट्टराईले १ हजार ७ सय ५ प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका टिकाराम लिम्बुले १ हजार ४ सय ८९ र नेपाली काँग्रेसका सुजेन्द्र तामाङले १ हजार २ सय ५४ मत मात्र प्राप्त गर्नुभएको छ ।
सुनसरी क्षेत्र नं. २ मा लाल विक्रम थापा (रास्वपा) ले १६ हजार २५ मतसहित अग्रता कायम गर्नुभएको छ । उहाँलाई राजीव कोइराला (नेपाली कांग्रेस) ले ६ हजार ५ सय ८६ मतसहित पछ्याइरहनु भएको छ ।


यस्तै सुनसरी क्षेत्र नं. ३ मा अशोक कुमार चौधरी (रास्वपा) २९ हजार ५ सय ६७ मतका साथ सबैभन्दा ठूलो मतान्तरसहित अग्रस्थानमा रहनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी विजय कुमार गच्छदार (नेपाली कांग्रेस) ले १० हजार ८ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस भने नेकपा एमालेकी भगवती चौधरीले ८ हजार ७ सय ९४ मत ल्याउनु भएको छ । यसैगरी सुनसरी क्षेत्र नं. ४ मा पनि रास्वपाकै दीपक कुमार साह ५ हजार ६ सय ७८ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) ले २ हजार ७७ मतसहित पछ्याइ रहनु भएको छ । पछिल्लो मतगणनाले सुनसरीमा पुराना राजनीतिक दलहरूभन्दा नयाँ र वैकल्पिक शक्तिप्रति मतदाताको आकर्षण बढ्दै गएको संकेत गरेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले तीन क्षेत्रमा फराकिलो अग्रता कायम गर्दै जिल्लाको राजनीतिक समीकरण बदलिने सम्भावना देखाएका छन् ।
त्यस्तै सुनसरी क्षेत्र नं. १ मा हर्क राज राई नेतृत्वको श्रम संस्कृति पार्टीले अग्रता लिँदा नयाँ र स्वतन्त्र राजनीतिक धारले पनि मतदाताबाट उल्लेखनीय समर्थन पाइरहेको देखिएको छ । हाल मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । तर प्रारम्भिक नतिजाले सुनसरीमा नयाँ राजनीतिक लहर देखिएको विश्लेषण हुन थालेको छ ।

तपाईको प्रतिक्रिया