उजुरीमाथि कारबाही नभएकोप्रति बालसञ्जालको आपत्ति : निर्वाचन कार्यालयमै धर्ना

धरान । मौन अवधिका समयमा धरान बाल सञ्जालले निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. १ मा धर्ना दिएको छ । राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेको भन्दै सञ्जाल आन्दोलित बनेको हो । पटक–पटक उजुरी दिँदा पनि सम्बन्धित निकायबाट ठोस कारबाही नभएको आरोप लगाउँदै सञ्जालका प्रतिनिधिहरूले धर्ना दिएका हुन् । बाल सञ्जालका प्रतिनिधि रोजन शंकरका अनुसार, निर्वाचन आयोगलाई बालबालिका प्रयोग भएको विषयमा निवेदन दिएको एक महिना नाघिसक्दा पनि कुनै ठोस जवाफ आएको छैन । उहाँले १३ गते तीन दिनको र १७ गते २४ घण्टाको अल्टिमेटम दिएको तर त्यसपछि पनि लिखित जवाफ नआएपछि आन्दोलनस्वरूप धर्ना दिन बाध्य भएको बताउनुभयो । संविधान र कानुनको पालना गराउनुपर्ने निकायले नै कानुन कार्यान्वयनमा उदासीनता देखाउनु विधिको शासनमाथिको उपहास भएको उहाँको भनाइ छ । “हामीहरुलाई बालबालिका भनेर हेप्न खोजिएको भन्ने महसुस भएको महसुस भएको उहाँको भनाई छ ।


सञ्जालले विशेषगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी विरुद्ध उजुरी दिएको जनाएको छ । उजुरीमा चुनावी म्युजिक भिडियोमा बालबालिकालाई अभिनय गराएको, दलको चुनाव चिन्ह अंकित टिसर्ट वितरण तथा प्रयोग गराएको, घरदैलो कार्यक्रममा घोषणापत्र र पम्प्लेट बाँड्न लगाएको जस्ता विषय उल्लेख गरिएको छ । आन्दोलनरत बालबालिकाहरूले उजुरी दिएकै कारण ज्यानको जोखिम मोल्नुपरेको गम्भीर आरोप पनि लगाएका छन् । काठमाडौँमा उजुरीको विषय लिएर जाँदा ट्याक्सी र बसभित्रै धम्की दिइएको उनीहरूको गुनासो छ । काठमाडौँको भाटभटेनी नजिकै आफूहरूमाथि खुकुरीजस्तो देखिने हतियारसहित प्रहार गर्ने प्रयास भएको रोजन शंकरले बताउनुभयो । यस्तै, धरानमै पनि सञ्जालका अध्यक्षमाथि कुटपिटको प्रयास भएको तथा सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज र धम्की आउने गरेको उनीहरूले बताएका छन् । धाकधम्कीका कारण केही बालबालिकालाई अभिभावकले घरबाट बाहिर ननिस्कन निर्देशन दिएको पनि सञ्जालको गुनासो छ । यता निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. १ का अधिकृत दिव्यराज घिमिरेले भने उजुरीमाथि कानुन बमोजिम प्रक्रिया अघि बढिरहेको बताउनुभयो । निवेदन दर्ता हुने बित्तिकै निर्णय नहुने भन्दै अनुसन्धानका लागि टोली खटाइएको, प्रमाण संकलन तथा सम्बन्धित पक्षसँग स्पष्टीकरण सोध्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहालेयसअघि पनि आचारसंहिता उल्लंघनका घटनामा यस अघि श्रम संस्कृति पार्टीलाई २५ हजार जरिवाना गरिएको बताउदै हालका उजुरीहरू पनि निर्वाचन आयोग तथा अनुगमन समितिमा पठाइसकिएको बताउनुभयो । बाल सञ्जालले भने मौखिक आश्वासनले मात्र नहुने भन्दै लिखित प्रतिबद्धता नआएसम्म धर्ना जारी राख्ने अडान दोहो¥याएको छ

तपाईको प्रतिक्रिया