भारत सरकारद्वारा नेपालको आसन्न निर्वाचन लक्षित तेस्रो खेपको उपहार हस्तान्तरण

धरान । भारत सरकारद्वारा नेपालमा हुने फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी तेस्रो खेपको सहयोगी सामान उपहार स्वरुप हस्तान्तरण गरिएको छ । यस भन्दा अगाडि त्यस्ता सामानहरु दुई पटक हस्तान्तरण गरिसकेको भारतले माघ २९ गते एक विशेष समारोहबीच नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले तेस्रो चरणको सामान नेपालका गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गर्नुभएको हो । नेपाल सरकारलाई उपहार स्वरुप हस्तान्तरण गरिएको तेस्रो चरणका सामाग्रीहरुमा नेपाली सेनाका लागि ५० वटा ट्रक, २७० भन्दा बढी सवारी साधन र अन्य सामाग्री रहेका छन् । ती सामाग्रीहरु निर्वाचनको तयारीका लागि नेपाललाई चाहे बमोजिम भारत सरकारले सहयोग प्रदान गरेको हो । नेपाली सेनाका लागि प्रदान गरिएका ती ट्रकहरु नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज रिग्देलले भारतीय राजदूत नवीन श्रीवास्तवबाट ग्रहण गर्नुभएको थियो ।


सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्य राख्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो, भारत सरकारले नेपाललाई समयमै उपलब्ध गराइएको र निकै नै महत्वपूर्ण मानिएको यस प्रकारको सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद छ । उहाँले दुई देशबीचको परस्परिक हित र वृहत सहकार्यको प्रशंसा गर्दै यो सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धताद्वारा निर्देशित रहेको उल्लेख गरेको दूतावासद्वारा जारी विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा भनिएको छ, भारत सरकारबाट प्राप्त यस्ता निर्वाचन सम्बन्धी सहयोगको पहिलो र दोस्रो खेपहरुमा ३१० वटा भन्दा बढी सवारी साधन र अन्य सामाग्रीहरु माघ ६ गते र माघ १५ गते नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ । थप सहयोगहरु आगामी दिनहरुमा विभिन्न चरणमा उपलब्ध गराइने जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, भारतीय पक्षबाट भइरहेको सहकार्य र समर्थन दुई देशबीच रहिआएको वहुआयामिक र वहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब हो । यस प्रकारको सहयोगले भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रतालाई समेत प्रतीकका रुपमा झल्काउँछ ।

तपाईको प्रतिक्रिया