लक्ष्मी सनराइज बैंकको बीपीसँग सहकार्य : तीस वटा ट्रली प्रदान

धरान । अस्पतालको आकस्मिक कक्ष–जहाँ प्रत्येक सेकेन्ड जीवन र मृत्युसँगको दौड जस्तै हुन्छ । चौविसै घण्टा उपचार हुने यो कक्षमा विरामी बोक्ने ट्रली प्रदान गरेको छ ।
बैंकले विरामीकालागि थप सहज प्रदान गर्न, सुरक्षित र व्यवस्थित बनाउन बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३० थान पेसेंट ट्रान्सफर ट्रली (म्याट्रेस र आईभी स्ट्यान्डसहित) सहयोग गरेको हो । स्वास्थ्य सेवाको गुणस्तर उकास्ने एक महत्वपूर्ण पहलको रुपमा अत्यावश्यक सामागी ट्रली प्रदान गरिएको बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (ऋक्च्) कार्यक्रम अन्तर्गत उक्त सामग्री उपलब्ध गराएको हो । बैंकको प्रधान कार्यालय काठमाडौँ र धरान शाखाको सहकार्यमा प्रदान गरिएको सहयोगले स्थानीय स्वास्थ्य संस्थासँग निजी क्षेत्रको सहकार्य कति प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको छ ।


२०८२ माघ २० गते प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, रजिस्ट्रार प्रा.डा. सूर्य प्रसाद सङ्ग्रौला, विभिन्न महाशाखा प्रमुख, शिक्षक, चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकका तर्फबाट केन्द्रीय कार्यालयका प्रतिनिधि, कोशी प्रदेश प्रमुख बारबरिक पोख्रेल तथा धरान शाखा प्रमुख सन्जोग राज भण्डारी लगायत सहभागी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका पदाधिकारीहरूले यस सहयोगले आकस्मिक सेवामा बिरामीको सुरक्षित तथा सहज आवागमन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रतिष्ठान परिवारले लक्ष्मी सनराइज बैंकप्रति हार्दिक आभार प्रकट गरेको छ । पछिल्लो समय प्रतिष्ठानलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दाताहरूको संख्या बढ्दै गएको छ । यसले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सामूहिक उत्तरदायित्व र सहकार्यको संस्कृति बलियो बन्दै गएको संकेत गर्दछ ।

तपाईको प्रतिक्रिया