इटहरी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय अभियानअन्तर्गत जिल्ला शाखा सुनसरीद्वारा बुधबार इटहरीमा आयोजित शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता विषयक नागरिक संवाद कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा नागरिक समाजका अगुवा जगदीश ओलीले परिवर्तन, विकास, सुशासन र सदाचारका लागि समयमै निर्वाचन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसका प्रतिनिधि सुवेच्छुक देवान राईले विकास र सुशासन बिना नागरिक सन्तुष्टि सम्भव नहुने बताउनुभयो भने नेकपा एमालेका प्रतिनिधि काशीनाथ दंगालले निर्वाचनले सही मार्गनिर्देशन गर्ने धारणा राख्नुभयो ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रका संस्थापक सभापति कृष्ण पहाडीले विगतका आन्दोलनका एजेण्डा सत्तामा पुगेकाहरूले सम्बोधन नगर्दा असन्तोष बढ्दै गएको बताउनुभयो । केन्द्रीय सभापति रेनुका पौडेलले शत्रुताविहीन आचरण र मित्रवत प्रतिस्पर्धामार्फत समयमै निर्वाचन गराउन दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ्। कार्यक्रममा लोककवि अर्जुन पराजुली, महासचिव प्रकाश शाहीसहित विभिन्न क्षेत्रका वक्ताहरूले स्वच्छ निर्वाचन र सामाजिक सद्भाव प्रवद्र्धनका विषयमा धारणा राखेका थिए । यस अवसरमा स्थानीयबासी, विभिन्न संघसंस्था, राजनीतिक दल, अधिकारकर्मी र विद्यार्थीहरूको सहभागितामा सद्भाव प्रवद्र्धन तथा हिंसा र घृणाको खारेजीका लागि प्रदर्शन ¥याली समेत आयोजना गरिएको समाजले जनाएको छ ।
