धरान । मधेशको विविध भाषा, साहित्य, संस्कृति, कला तथा परम्पराको जगेर्ना गर्ने उद्देश्यले मधेश प्रदेशको वीरगञ्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सम्पन्न भएको छ । माघ १५ गतेदेखि सुरु भएको साहित्य महोत्सव माघ १७ गते शनिबार उत्साहका साथ सम्पन्न भएको थियो । महोत्सवको आयोजना उत्कर्ष नेपाल र वीरगञ्ज महानगरपालिका र मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय एवम् मधेश विश्वविद्यालयको सहयोगमा सम्पन्न भएको थियो । आयोजकका अनुसार महोत्सव आयोजना गर्नुको प्रमुख उद्देश्य मधेशमा भाषा, साहित्य, कला, संस्कृति, परम्पराहरूको संरक्षणमा आजका युवाहरूलाई सक्रिय एवम् प्रोत्साहन गर्नु रहेको थियो । मधेश विश्वविद्यालयमा भएको महोत्सवमा युवाहरूका बीचमा विषयकेन्द्रित अन्तरक्रिया र संवाद गराइएको थियो । महोत्सवको मूल नारा ‘गाउँ–मन्थन ः सपनाको विरासत जोगाउन साहित्य’ भन्ने रहेको थियो। कार्यक्रममा नेपाल–भारतका साहित्य अनुरागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । महोत्सवको अन्तिम दिन मधेश विश्वविद्यालय परिसरमा आयोजित सांस्कृतिक कार्यक्रममा भारतकी चर्चित भोजपुरी लोक गायिका पटवारीको दमदार सांगीतिक प्रस्तुतिले सहभागी एवम् दर्शकहरूलाई मजाले नचाएकी थिइन् ।


महोत्सवको पहिलो दिन गाउँ स्मृति, मिथक र यथार्थ, गाउँका युवा पलायन, नीति र विकल्प, गाउँ लोकतन्त्र र सत्ता, गाउँ स्मृति र इतिहासमा मन्थन भएको थियो भने दोस्रो दिन गाउँ संघर्ष र संरचना, शिक्षा, स्वास्थ्य र समानता, गाउँ विकास बनाम विनाश, गाउँका खबर, काल र आज लगायतका नारामाथि बहस एवम् विमर्श भएको थियो । सोही दिन अर्थात् महोत्सवको दोस्रो दिन बहुभाषी कवि गोष्ठी, नेटुवा नाच, गीत, नाटक समेत सहभागीहरूले प्रस्तुत गरेका थिए ।
