धरान । सातौँ मिस्टर कोशी प्रदेश स्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता २०८२ सालको चैत २७ र २८ गते धरानमा आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजना एलाइनेट जिमले गर्न लागेको हो । मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो। एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूका अनुसार प्रतियोगिता धरान उपमहानगरपालिका–८ स्थित सभागृहमा सञ्चालन हुनेछ । एलाइनेट जिमको २३औँ प्रस्तुति तथा मिस्टर कोशी प्रतियोगिताको सातौँ संस्करणका रूपमा यो कार्यक्रम आयोजना हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल च्याम्पियनसिप सञ्चालन गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो। प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तथा ७५ केजी माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रि–जजिङ चरणबाट प्रत्येक तौल समूहबाट पाँच–पाँच जना खेलाडी छनोट भई फाइनल चरणमा कुल ३० जना सहभागी हुनेछन्। फाइनल चरणमा प्रत्येक तौल समूहका प्रथम स्थान हासिल गर्ने खेलाडीहरूबीच ओभरअल राउण्ड सञ्चालन गरिनेछ। ओभरअल राउण्डमा प्रथम हुने खेलाडीले सातौँ मिस्टर कोशीको उपाधिसहित ट्रफी र नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौँ स्थानसम्म क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यसका अतिरिक्त बेष्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ र बेष्ट टिम विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रदेश स्तरीय प्रतियोगिता भए पनि मुख्यतः सुनसरी, मोरङ र झापाका विभिन्न क्लबबाट खेलाडीहरूको सहभागिता रहनेछ । पहाडी जिल्लामा क्लबहरू भए तापनि फिटनेसका लागि मात्र जिम जाने प्रवृत्ति बढ्दै गएको र प्रतिस्पर्धात्मक खेलतर्फ आकर्षण घट्दै गएको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार खेलाडीको संख्या क्रमशः घट्दो अवस्थामा छ। ‘डाइटमा धेरै खर्च लाग्छ, तर पुरस्कार राशि अझै कम छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक सीमितताका कारण पुरस्कार राशि बढाउन सकिएको छैन ।’ यद्यपि प्रतियोगितामा सहभागी खेलाडीहरूलाई दुई दिनका लागि प्रतिव्यक्ति ६ सय रुपैयाँ भत्ता तथा बसोबासको व्यवस्था गरिने जानकारी दिनुभयो । प्रतियोगिता आयोजना गर्न करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धरान उपमहानगरपालिकाबाट सीमित आर्थिक सहयोग प्राप्त भए पनि बाँकी रकम साथीभाइ तथा कार्यसमितिको सहयोगबाट जुटाउनुपरेको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । नेपालमा शारीरिक सुगठन प्रतियोगिताको सुरुआत धरानबाटै भएको उल्लेख गर्दै अध्यक्ष लिम्बूले २०२७ सालमा पहिलो पटक ‘मिस्टर धरान’ आयोजना भएको इतिहास स्मरण गराउनुभयो । त्यसैले स्थानीय तथा प्रदेश सरकारले यस खेलको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
