धरान । राजनीतिक दलहरुले चुनावी प्रयोजनका लागि बालबालिका प्रयोग गरेको भन्दै धरान बाल सञ्जालले आपत्ति प्रकट गर्दै सम्बन्धित निकायमा उजुरी दिएका छन् । उनीहरुले हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेको आरोप लगाउँदै सुनसरी क्षेत्र नं. १ को निर्वाचत अधिकृतको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । धरान बाल सञ्जालले निवर्तमान धरान उपमहानगरपालिकाका मेयर तथा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले निर्वाचन प्रचारप्रसार तथा विभिन्न प्रयोजनमा बालबालिकाको प्रयोग गरेको भन्दै सुनसरी क्षेत्र नं. १ को निर्वाचत अधिकृतको कार्यालय तथा इलाका प्रहरी कार्यालय धरानमा ध्यानाकर्षण गराउदै उजुरी दर्ता गराएको हो । उजुरीमा उनीहरुले अध्यक्ष हर्कसाम्पाङले आगामी फागुन २१ गते हुने प्रनिनिधिसभाको निर्वाचनको प्रयोजनका लागि बालबालिकालाई प्रचारप्रसारमा संलग्न गराएको निर्वाचत अधिकत समक्ष बताए । चुनाव प्रचारप्रसारका लागि बालबालिका ऐन २०७५ परिच्छेद २ दफा ७ को उपदफा ७ मा कुनै पनि बालबालिकालाई सेना प्रहरी र सशस्त्र प्रहरीमा भर्ना गर्ने वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सशस्त्र द्वन्द्व वा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने प्रावधान हुँदाहुदै कानुनले बर्जित गरेको कुरालाई खुलेआम धज्जी उडाउँदै निर्वाचन आचारसंहिताको उल्लंघन भएकोले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई कानुन बमोजिमको कारबाहीको माग बालसञ्जालले गरेको छ ।

बाल सञ्जालका प्रतिनिधि रोजन शङ्कर र नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा उजुरी दर्ता गराउँदै चुनावी प्रयोजनका लागि बालबालिकाको प्रयोगमा निर्वाचन अधिकृतको कार्यालय गम्भीर हुन समेत आग्रह गरेका छन् सुनसरी क्षेत्र न. १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेले यस विषयमा आफूहरु गम्भीर भएको बताउदै प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा गठित समितिले उजुरीको अध्ययन गरेर आवश्यक समन्वयका लागि पत्राचार गरिने बताउनुभयो । उहाँले जिल्ला अनुगमन समितिमा अनुगमन अधिकृतका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई तोकिएको जानकारी दिँदै अनुगमनका क्रममा बालबालिका प्रयोग भएको प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना सहित उम्मेदवार खारेजीसम्मको कानुनी प्रावधान रहेको स्पष्ट पार्नुभयो ।
