धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ क्षेत्रमा लागूऔषध ओसारपसार तथा प्रयोगविरुद्ध प्रहरीले कडाइ गरेको छ । सोही क्रममा गस्तीमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार माघ ११ गते बिहान करिब ७ः३० बजेको समयमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको गस्ती टोलीले धरान–१७ स्थित क्षेत्रमा चेकजाँच तथा खानतलासी गर्दा लागूऔषध फेला पारेको हो ।

प्रहरीले खानतलासीको क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.१८ ग्राम (एक सय असी मिलिग्राम), ट्रामाडोल ६० (साठी) क्याप्सुल र स्पास्पेन ५९ (उनन्साठी) ट्याब्लेट बरामद गरेको जनाएको छ । बरामद लागूऔषधसहित सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय
धरानमा ल्याइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लागूऔषध दुरुपयोग तथा कारोबार नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।
