धरान । पौषे औंशीमा कोकाहाको पवित्र जलले विष्णु भगवानलाई अर्पण गर्दै पितृ उद्धार्थ तर्पण पिण्ड दिनेहरूको भीड विष्णुपादुकामा यसपटक विगतको तुलनामा अझ वृद्धि भएको देखियो । धरान उपमहानगरपालिका वडा नं. २० स्थित विष्णुपादुका पितृ श्राद्धका लागि भारतको गया भन्दा पनि पवित्र रहेको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ । पितृ उद्धारको आकांक्षा लिएर गयामा नेपालबाट कोही श्राद्ध गर्न जाँदा गयाका पण्डित, पुरोहित तथा ब्राह्मणहरू आश्चर्य व्यक्त गर्ने गर्छन् । नेपालबाट गएकाहरूलाई उनीहरू सोध्ने गर्छन्, विष्णुपादुकामा गएर श्राद्ध गर्नुभयो ? उनीहरू भन्ने गर्छन्, गया श्राद्धसहस्रेण यस्य मुक्ति न विद्यते । तस्य कोकाह जल स्पर्शत् ध्रुव मुक्तिर्भविष्यति । (स्कन्द पुराणमा उल्लेख) अर्थात् जसले भारतको गयामा गएर हजार पटक श्राद्ध गर्दा पनि मुक्ति पाउँदैन तर कोकाहा नदी (विष्णुपादुका) मा जल स्पर्श मात्र गर्नाले निश्चय नै मुक्ति पाउनेछ । हिन्दू धर्मशास्त्र स्कन्द पुराणमा मात्र नभएर हिमवत्खण्डको महिमाले समेत विष्णुपादुकाको महत्वलाई थप उजागर गरेको छ । हिमवत्खण्डको बराह पर्वतबाट निस्किएको कोकाहा खोला र कौसिकी संगमलाई बराह तीर्थ मान्दै त्यस स्थानमा पितृ श्राद्ध गर्दा पितृको आशीर्वाद पाउने र पितृको उद्धार हुने वर्णन गरिएको छ । धार्मिक ग्रन्थहरूमा गरिएको वर्णनले विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्र भएको छ । विष्णुपादुका मन्दिरमा भगवान विष्णुले पहिलो श्राद्ध गरेकोले यही स्थानबाट श्राद्धको परम्परा थालनी भएको शास्त्रहरूमा उल्लेख छ ।
के भन्छन् श्राद्ध गर्न आएका तीर्थालु


भारतको सिक्किम रानीपुलबाट एक दिन अगाडि नै श्राद्ध गर्न आफ्ना परिवारका साथ सवारी साधन लिएर विष्णुपादुका मन्दिर पुगेका विनोद पाण्डे भन्छन्, मैले त्यस स्थानको महिमा धेरै पहिलादेखि नै सुन्दै आएको हुँ । यस पवित्र स्थानमा आएर पितृ उद्धार्थ श्राद्ध गर्न धेरै पटक प्रयास गरेँ तर नजुरेकोले होला आउन पाएको थिइनँ । उहाँले भन्नुभयो, एक दिन अगाडि आएर मन्दिरमै बास बस्यौं । आज कोकाहा किनारमा श्राद्ध गर्दैछौं । सुने अनुसारकै स्थान रहेछ । अत्यन्तै सुन्दर स्थान । यस ठाउँमा श्राद्ध गर्न पाउनु आफैंले अहोभाग्य सम्झेको समेत उहाँले सुनाउनुभयो । उता भारतको कालिम्पोङबाट पितृ उद्धार्थ श्राद्ध गर्न आउनु भएका देवेन्द्र भण्डारीको कथन पनि पाण्डेको भन्दा फरक थिएन । धार्मिक शास्त्रमा वर्णन गरिएको यस्तो पवित्र स्थानमा आज श्राद्ध गर्न पाउँदा भागीरथको झैं २१ पुस्ता अगाडि र २१ पुस्ता पछाडिकाले मोक्ष पाउने विश्वास लागेको छ । उता भारतकै सिलगढीको प्रधानबस्तीबाट आउनु भएका हरेराम प्रधान औधी खुशी देखिनुहुन्थ्यो । यसभन्दा अगाडि पनि दुई पटक पौषे औंशीमा पितृ श्राद्ध गरिसक्नु भएका उहाँले भन्नुभयो, यस भन्दा अगाडि यस पवित्र स्थानमा आएर श्राद्ध गर्दा परिवारमा शान्ति छाएको, व्यवसायमा सुधार भएको छ । पौष ४ गते शुक्रबार पितृ श्राद्ध गर्न आउनेहरूको अत्यधिक भीड व्यवस्थापन गर्न प्रहरी र स्वयंसेवकहरूलाई हम्मे हम्मे परेको थियो । नेपालको दूरदराजका तीर्थालुहरू ठूला सवारी साधन नै रिजर्भ गरेर विष्णुपादुका पुगेका थिए । कोकाहा किनारका फाँटिला स्थानहरू सवारी पार्किङका लागि व्यवस्था गरिए पनि अत्यधिक सवारी साधनका कारण स्थान अभाव भएको देखिन्थ्यो । गण्डकी प्रदेशको दमौलीबाट ठूलो सवारी साधन रिजर्भ गरेर आउनु भएका शेषकान्त आचार्यले भन्नुभयो, आज अत्यधिक खुशी लागेको छ । यस पवित्र स्थानमा आएर पितृ श्राद्ध गर्न पाउँदा आनन्द लागेको छ ।
दाताहरूबाट निःशुल्क खानाको भण्डारा
पौषे औंशीका दिन पितृ श्राद्ध गर्न आउनेहरूको भीडले कोकाहा नदीको झण्डै तीन किमी किनार ढाकेको थियो । पितृ श्राद्ध गर्न आउने अधिकांशले आफ्ना लागि सम्पूर्ण बन्दोबस्ती गरेर आएको भए पनि दाताहरूको सहयोगमा निःशुल्क खानाको भण्डारा सञ्चालन गरिएको थियो । आगन्तुकहरूका लागि मन्दिर परिसरमा कुनै प्रकारको होटल सञ्चालनमा नहुँदा निःशुल्क खानाको भण्डारबाट उनीहरू तृप्त भएका थिए । निःशुल्क खानाको भण्डारको संयोजन गर्नुभएका बालकृष्ण निरौलाले भन्नुभयो, अहिले मात्र नभएर विगत ५ वर्षदेखि भण्डारलाई चलाउँदै आएका छौं । विगतमा दुई–तीन हजारले निःशुल्क खाना खाएको सुनाउँदै निरौलाले यसपटक केही कमले भोजन गरेका छन् । यसको प्रमुख कारण यसपटक अन्धशुक्र भएको कारणले श्रद्धालुहरू केही घटेका छन् । यसको स्रोत कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने सम्बन्धमा निरौलाले भन्नुभयो, जब पौषे औंशी आउँछ त्यसबेला निरौला बन्धुहरूले पैसा पठाइदिनुहुन्छ र व्यवस्थापन मात्र आफूले गरेको बताउनुभयो । भण्डारमा लगभग ८०–९० हजार खर्च हुने गरेको छ । यस प्रकारको भण्डारा सञ्चालन गर्ने सोच कसरी आयो त भन्ने सम्बन्धमा उहाँले भन्नुभयो, विष्णुपादुका मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार निरौला हुनुहुन्छ । उहाँले नै यहाँ काम गरौं भन्नुभयो, मलाई पनि हर्ष लाग्यो । निरौलाहरूको प्रयासमा भवन पनि बनायौं । सबैले साथ दिएर धर्मशाला बनाइयो । भण्डारमा जो आए पनि आनन्दले खाना खानुहुन्छ । कसैलाई रोकटोक हुँदैन, तृप्त भएर जानुहोस् भन्छौं ।
सडक र भौतिक संरचना
धरानबाट अर्थात वडा नं. ११ को मंगलबारेबाट जम्मा १२ किमी दूरीमा रहेको विष्णुपादुका पुग्न झण्डै एक घण्टा खर्चिनुपर्छ । १२ किमी दूरी पार गर्न यत्तिका समय लाग्नुमा प्रमुख कारण सडकको दुरावस्था नै हो । सेउती पुलपारि करिब ६ किमी सडक कालोपत्रे भए पनि अत्यन्तै साँघुरो हुनु र बाँकी सडक उबडखाबड भएकैले त्यतिको समय लाग्ने गरेको हो । विगतका तुलनामा सडकमा केही सुधार भएको स्थानीय जगतबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार निरौला आउनु भएपछि सडकसँगै मन्दिर संरचनामा समेत धेरै परिवर्तन भएको हो । विभिन्न सामाजिक संघसंस्था, धार्मिक क्षेत्रहरूको पूर्वाधार निर्माण लगायतका कार्यमा अहोरात्र खटिनु हुने अध्यक्ष निरौलाकै सत्प्रयासमा विष्णुपादुका मन्दिर
परिसरमा धर्मशाला, मन्दिर संरक्षणका लागि ग्रिल गेट, पर्खाल, बास रुमको समुचित व्यवस्था भएको उहाँले बताउनुभयो ।
दैनिक श्राद्ध गर्न जानेहरूको संख्या बढ्दै
विष्णुपादुका मन्दिरमा पितृ श्राद्धका लागि पुग्ने तीर्थालुहरू पौषे औंशी बाहेक अन्य समयमा पनि दैनिक सयौंको संख्यामा पुग्ने गर्छन् । धरान पमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष पदम लिम्बुका अनुसार अन्य समयमा पनि दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा पितृ श्राद्धका लागि आउने गर्छन् । अन्य समयमा आउने तीर्थालुले श्राद्ध गर्नका लागि पुरेतको व्यवस्था आफैं गरेर आउने गरेको उहाँले सुनाउनुभयो । पौषे औंशीका दिन चाहिँ तीर्थालुहरूले पुरेतको व्यवस्था गरेर आउनु पर्दैन । त्यस दिन पुरेतहरू यही कर्मका लागि विष्णुपादुका पुगेका हुन्छन् । वि.सं. १९७० सालदेखि विष्णुपादुका मन्दिरमा श्राद्ध गर्न आउनेहरूको हरेक वर्ष भीड लाग्ने गरेको आफैंले सुनेको अध्यक्ष लिम्बुले बताउनुभयो । यहाँ स्मरणीय कुरा के छ भने आफ्ना पितृहरूप्रति श्रद्धाभक्ति गर्नेहरू सबै समुदायका वा जातका मानिसहरू विष्णुपादुकामा पितृ उद्धार र आशीर्वादका लागि श्राद्ध गर्न जाने गरेका छन् । पुरोहितहरूले पनि छुवाछुत छुट्याउने काम गर्दैनन् । विष्णुपादुका श्राद्धको यो विशेष पक्ष हो ।


