मुलुक यतिबेला घोर अनिश्चियतर्फ उन्मुख भएको छ । विगत ३५बर्षदेखि सिण्डिकेट प्रथा कायम गरी राजनीतिक दलको आवरणमा व्यक्तिमा चरम अवसरवाद र तानाशाह प्रवृत्ति हाबी भएपछि मुलुकको दुर्गति शुरु भएको हो । भाद्र २३ र २४ गतेले उनीहरुलाई चेतावनी दिए पनि ती कथित पात्रहरुमा गाडिएको अहंकारको बादल क्लेस मात्र पनि हँटेको पाइएको छैन । नागरिकलाई चरम शोषण गरेर मुलुकको अस्मिता माथि खेलबार्ड गरी अकूत राशीका मालिक बनेकाहरुमा अझ पनि सद्बुद्धि नआए राम राम भन्नुका विकल्प रहने छैन । वर्तमान परिपिस्थति अझ विकसित हुँदै जाने हो भने न मुलुकको अस्मिता जीवन्त रहन सक्छ न यहाँका नागरिकहरुले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न भनेर गर्व गर्न सक्छन् । यो परिस्थिति आज आएर निर्माण भएको होइन । जब मुलुकमा बेइमान राजनैतिक दलहरुको सिण्डिकेटले हालीमुहाली शुरु ग¥यो त्यसै बेलादेखि आजको अवस्था विकसित हुँदै आएको हो । जसको परिणत मुलुक जोड्ने भन्दा पनि ताड्नेको बाहुल्यता बढ्दै गयो । दलका कार्यकर्ताहरु इजी मनी आर्जनमा लिप्त हुँदै गए । यसको चाँजोपाँजो मिलाइदिने सत्तासीन सिण्डिकेटेहरु थिए । ३५ बर्ष अगाडि नेपालमा जात धर्मको बीचमा कुनै विभेद थिएन, यसैको आडमा कसैको मानमर्दन हुँदैन थियो । तर आज परिस्थिति यति गम्भीर भएको छ कि एनजिओ, आइएनजिओको आडमा पश्चिमा मुलुकहरुले परेड खेल्न थालेका छन् । नेपाली कम दलाल ज्यादा छन् । कोही सिआइएका दलाल छन्, कोही युरोपियन युनियनका दलाल छन्, कोही एमएसएका दलाल छन् । दलका कार्यकर्ता मात्र नभएर सत्ता सञ्चालन गरेर बसेकाहरु समेत अछुतो छैनन् । देशका व्युरोक्रेट्स, उपल्लो दर्जाका प्रहरी, गुप्तचर विभाग, सुकिला अनुहार परेका, सुकिला पोषक लगाउने र आफूलाई बुद्धिजीविको स्वघोषित पगरी गुथेकाहरु समेत कुनै न कुनै रुपमा एजेन्टकै काम गर्छन् । विगतमा भएको यो प्रवृत्तिलाई निरुत्साहित गर्न, सुधार गर्न कलिला युवाहरुले रगत बगाए तर त्यसको परिणाम समेत सकारात्मक आउन सकेन । युवाहरको बलिदानले सबैले सकारात्मक परिणामको अपेक्षा राखेका थिए । तर उही पुरानै प्रवृत्ति दोहोरिएको छ । सत्ताका नव आगन्तुकहरु समेत विदेशी एजेन्टको पगरी गुथेकै पुगेका छन् । कोही बारबरा फाउण्डेशनका मतियार छन्, कोही कस्का मतियार छन् । नव आगन्तुक अनुहारबाट कुनै परिवर्तनको अपेक्षा नेपाली जनताले गरेका छै्रनन । अवैध बाटोबाटै भएपनि सत्तामा गएर परिवर्तनको आशा देखाउलान् भन्ने अपेक्षा थियो तर नयाँ बोतलमा पुरानै रक्सी प्याक गरेजस्तो भयो । अर्कोतर्फ यतिबेला डरलाग्दो खुलासा हुँदै गएको छ । जब राष्ट्रिता कमजोर हुन्छ बाह्य शक्तिहरुको बक्रदृष्टि स्वभाविक हो । यही हुँदैछ । एउटा अज्ञात समूह युरोपियन र अमेरिकाको मलजलले कुकुल्याण्ड भन्ने देशको सपना बोकेर गतिविधिमा लागेको छ । जसले नेपालको कोशी प्रदेशका केही पहाडी जिल्ला र भारतको मणिपुर र नागाल्याण्डसम्मको भूभाग समेटेर देश निर्माणको सपना बोकेर हिडेको छ । वर्तमान अवस्थामा त्यो सम्भव नहोला तर यसतर्फ समयमै सचेत रही निगरानी गर्नु बुद्धिमता हुनेछ ।
