धरान । हुर्रा नाँच मगर समुदायको परम्परागत सामूहिक नृत्य हो । यो नाँच मगरहरूको सांस्कृतिक पहिचान, एकता र उत्सवको प्रतीक मानिन्छ । पछिल्लो समय मगरजातिहरुले यो नाँचको संरक्षणका लागि सामुहिक रुपमा मनाउन थालेका छन् । हुर्रा नाँचको उत्पत्तिको ठ्याक्कै समय निर्धारण गर्न सकिँदैन । तथापि, मौखिक परम्परा र पुराना लोककथाहरूका अनुसार यो नाँच मगर समुदायमा शताब्दीयौँदेखि चलिआएको सांस्कृतिक अभ्यास हो । प्रारम्भिक समयमा यो नृत्य खेतबारीका काम सकेर वा युद्धमा विजय हासिल गरेपछि हर्षोल्लासका रूपमा गरिन्थ्यो । ‘हुर्रा’ शब्दको अर्थ पनि उत्साह, जोश, विजयको उद्घोष भन्ने अर्थमा प्रयोग हुन्छ । त्यसैले यस नाचलाई विजय नाच पनि भनिन्छ । समयक्रममा यो मात्र उत्सवको नाच नभई सांस्कृतिक पहिचानको महत््वपूर्ण अंश बनेको हो । धरानमा समेत लामो समयदेखि धरान १० सैनिक भवनमा बर्षेनी नाच्ने गरेका छन् । धरानका मात्र हैन धनकुटा, मोरङ सम्मका मगरहरुको उपस्थितिमा यो नाच बर्षेनी नाचिने गरिएको हो । कोरोना संक्रमणको बर्षबाहेक यो नाच बर्षेनी आयोजना गरिदै आएको नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगरले जानकारी दिनुभयो । उहाँले युवा पुस्ताहरुलाई हुर्रा नाचको विषयमा जानकारी गराउँदै, सिकाउदै र नाचमा सहभागी गराउदै मगरसंघ संरक्षणमा जुटेको बताउनुभयो ।


अन्य जातजातिको साँस्कृतिक नााच जस्तै हुराहुर्रा नाँच मगरहरुको महत्वपूर्ण नाच हो । यो नाच सामूहिक रूपमा गोलाकार वा पंक्तिबद्ध भएर नाचिन्छ । नृत्यका क्रममा ढोल, मादल, झ्याली, बाँसुरी जस्ता वाद्यसहित तालमा मिलाएर नाच्ने गर्छन् । धरान वहुजाति बसोबास भएको सहर भएकोले यहाँ रहेका सबै जातजातिको साँस्कृतिक पर्वलाई स्थानीय सरकारले उत्तिकै महत्वका साथ हेरेको छ । मगरहरुको साँस्कृतिक नाँच हुर्रा नाचको मौलिकतालाई जोगाइराख्न मगर जातिहरुले गरेको संरक्षण अभ्यासलाई स्थानीय सरकारले समेत साथ दिँदै आएको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो । गीतहरू प्रायः प्रेम, खेतीपाती, प्रकृति, र सामाजिक जीवनका विषयमा केन्द्रित हुन्छन् । यो नाचले सामाजिक एकता सबै जातजािितसँग आत्मीयता र एकता बढाउने काम गरेको छ । यसले गर्दा यो नाचमार्फत मगर संस्कृतिको मौलिकता र पहिचानलाई जीवित राख्ने मद्धत पुगेको छ । यो नाचमा महिलाको प्रमुख भूमिका हुने गरेकाले महिलाको सक्रियता र आत्मविश्वास झल्काउँछ । हुर्रा नाच गाउँघर मात्र होइन, शहरी क्षेत्रमा पनि प्रदर्शन गरिन थालिएको छ । विद्यालय, महोत्सव, तथा सांस्कृतिक प्रतियोगिताहरूमा पनि यो नाच प्रस्तुत हुन्छ । कुनैकुनै ठाउँमा युवा पुस्ता आधुनिक तालमा पनि हुर्रा नाचको मिश्रण गर्न थालेका छन् । तर, आधुनिकता र पश्चिमी संगीतको प्रभावले परम्परागत शैली हराउँदै गएको चिन्ता पनि समुदायभित्र देखिन्छ । त्यसैले मगर समाजका विभिन्न संस्था र संघहरूले यसको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
