पानी शुल्के प्रतियोगिता आगामी कार्तिक ३ गते आयोजना हुने

सुनसरी ( सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो आयोजना हुन लागेको आयोजकले जनाएको छ । ’जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र र टूफी पाउने छन् । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले प्रतियोगिताबारे जानकारी दिएको हो । अमहा सिमसारसँग सहकार्य गरेर यस बर्षको प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक लक्ष्मण कटुवालले बताए ।

आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ । उहाँका अनुसार चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ । विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले दाबी गरे । विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्ड अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन् । प्रतियोगिताका संयोजक लक्ष्मण कट्वालका अनुसार प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने छ । गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बूले ८८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेका थिए । इन्ट्री राउन्डमा १२ स्किप गरेका उनले फाइनल राउन्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भएका
थिए ।

तपाईको प्रतिक्रिया