सुनसरी ।सुनसरीको ईनरुवा नगरपालिका–४, बसचोकस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९७.६१ ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने प्रहरीलाई छल्दै फरार भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएको संयुक्त टोलीले रेडक्रस क्षेत्रबाट बसचोकतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने प्रयास गरेको थियो । सो क्रममा मोटरसाइकलको पछाडि सवार कृष्णकुमार मेहता (३३ वर्ष) ले भाग्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरुमा इनरुवा नगरपालिका ४ का ३३ बर्षीय कृष्णकुमार मेहता रहेका छन् । प्रहरीले चेकजाँच गर्दा उनले बोकेको झोलाबाट तीन वटा प्लास्टिक प्याकेटमा छुट्टाछुट्टै लुकाइ राखिएको ब्राउन सुगर जस्तो देखिने १९७.६१ ग्राम लागूऔषध फेला पारेको जनाएको छ ।
