धरान । विजयपुरस्थित नेपालकै प्रमुख शक्तिपीठ दन्तकाली मन्दिरमा पछिल्लो समय एक नयाँ परम्परा विकसित हुँदै गएको छ । सर्वसाधारण सचेत बन्दै गएकाले पशुपंक्षी बलिदिनुको सट्टा परेवा उडाउन र नरिवल फोडेर भाकल पुरा गर्ने चलन बढ्दै गएको पाइएको छ । दैनिकजसो भक्तजनको उपस्थिति रहने यो मन्दिरमा दशैंको नवरात्रका बेला भीड झनै बढ्ने गर्दछ । नेपालभरिकै नभई भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्छन् । हाल करिब ९० प्रतिशत भक्तजनले बलिदिनुको सट्टा परेवा उडाउने र नरिवल फोडेर भाकल बुझाउने गरेका छन् ।

अर्काको हत्या गरेर शान्ति नहुने भएकाले शान्तिको प्रतीक परेवा उडाएर नै भाकल बुझाइएको भक्तजन केदार श्रेष्ठले बताउनुभयो । दशैंबाहेक अन्य समयमा पनि भाकल बुझाउन आउनेहरूको संख्या उल्लेख्य छ । मासिक ३० देखि ४० जोडीसम्म परेवा उडाइन्छ । यसरी वर्षमा लाखौँ परेवा उडाइँदा व्यवस्थापनमा चुनौती थपिएको भए पनि भक्तजनको आस्था भने बढ्दै्र गएको मन्दिरका पूजारी वीरेन्द्रनाथ खनालले जानकारी दिनुभयो । परेवा व्यवस्थापनमा केही चुनौती भए पनि बलिको विकल्पका रूपमा परेवा उडाउने परम्पराले धार्मिक आस्थासँगै शान्ति र करुणाको सन्देश फैलाइरहेको पूजारी खनाल बताउनुहुन्छ ।
बलि संस्कृतिको विकल्पका रूपमा विकसित भएको यो अभ्यासले दन्तकाली मन्दिरलाई अझ शान्तिपूर्ण आस्थाको केन्द्र बनाउँदै लगेको देखिन्छ ।
