धरान । धरान १० मा रहेको सिंहवाहिनी भगवती मन्दिर व्यवस्थापन समितिले ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । समितिले मन्दिरकै प्रांगरणमा शिविरको आयोजना गरेको हो । समितिले नेपाल नेत्रज्योति संघ मोरङ अन्तर्गत विराटनगर आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । आँखाको समस्या भए पनि उपचारका लागि अस्पतालसम्म पुग्न नसकेकाहरुलाई लक्षित गरी निःशुल्क आँखा शिविरको आयोजना गरिएको सिंहवाहिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँले विशेषगरी ज्येष्ठ नगरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले चेकजाँचपछि समस्या भएकाहरुलाई औषधि र चश्मा समेत निःशुल्क वितरण गरिएको बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरे पनि बच्चादेखि बृद्धसम्मका सर्वसाधारणले चेकजाँच गराएको विराटनगर आँखा अस्पतालकी चिकित्सक डा. जोसोना महतोले जानकारी दिनुभयो । खानपान र शारीरिक व्यायाम लगायतका कारण सर्वसाधारणमा आँखाको समस्या बच्चादेखि बृद्धसम्म देखिएको बताउदै विशेष उपचारका लागि अस्पतालसम्म जान नसक्ने आँखाको समस्या भएकाहरुलाई लक्षित गरी विराटनगर आँखा अस्पतालसँग समन्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको शिविरका संयोजक लालबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले यहाँ उपचारमा आउनेहरुमा मोतिया विन्दु लगायत विभिन्न आँखाको समस्या भएको बताउदै समस्या भएकाहरुलाई उपचारसँगै निःशुल्क औषधि र चश्मा वितरण गरिएको बताउनुभयो । धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिवरमा डा. जोसेना महतोसँगै श्रवण माझी, सलि धमला, आदित्य चौधरी र मनोजकुमार महतोले समेत उपचारमा आउनेहरुको आँखा चेकजाँच गरेका थिए । शिविरबाट २ सय भन्दा बढी प्रत्यक्ष रुपमा लाभ लिएका थिए ।
