भारतीय राजदुत क्रिकेट प्रतियोगिता २०२५ सम्पन्न

काठमाण्डौ । भारतीय राजदुत क्रिकेट प्रतियोगिता २०२५ सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावासले जेठ १७ गतेदेखि २५ गतेसम्म त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा भारतीय राजदुत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको थियो । प्रतियोगितामा भारतीय राजदुतावास, परराष्ट्र मन्त्रालय, नेपालस्थित बेलायती राजदुतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेटरहरु र नेपालमा रहेका भारतीय डायस्पोराका प्रतिनिधित्व गरी ६ टोलीको उत्साहजनक सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको नेपालका लागि भारतीय राजदुत, बेलायती राजदुत, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा हेर्ने) को उपस्थिति रहेको थियो ।


नौ दिनसम्म चलेको उत्साहजनक र मैत्रीपूर्ण प्रतिष्पर्धापछि जेठ २५ गते फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा भारतीय राजदुतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिष्पर्धा गरेको थियो । फाइनल खेलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र भण्डारीको उपस्थिति रहेको थियो । उक्त अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।प्रतियोगिता सम्पन्न पश्चात सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । रिसेप्सन समारोहमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राजदुत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुको उपस्थिति रहेको थियो । सौहाद्र्धता र खेलकुदको भावनालाई सुदृढ पार्दै सहभागी ६ वटै टोलीका सदस्यहरुको समेत उक्त अवसरमा उपस्थिति रहेको थियो । खेलकुदको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई अझ प्रगाढ बनाउने एउटा महत्वपूर्ण कदम स्वरुप राजदुत श्रीवास्तवले तीनजना आशालाग्दा यु १९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा भारतीय राजदुतावासले नेपाली युवाहरुका लागि राजदुत क्रिकेट फेलोसीपको शुरुवातको घोषणा गर्नुभयो । जस अन्तर्गत नेपालबाट दुई जना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकाडेमीहरुमा छोटो अवधिको कोचिङ्ग गर्ने अवसर प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया