मोरङ । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका–५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसंगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका–५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलील बर्जु गाँउपालिका–३ बाट प्र.१–०२–००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका–९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।